यस घोर कलियुगमा परीक्षा भन्ने बित्तिकै ‘चिट’ भन्ने एउटा खेस्रो कागजलाई पनि सम्झनै पर्ने हुन्छ। यदि यस शब्दलाई स्मरण गर्न सकेनौं भने परीक्षाको मर्म भेदन गर्न सकिँदैन्। स्मरण रहोस, यहाँ हामी जीवनको परीक्षाजस्तो गहन विषयलाई गलहत्याउँदै कक्षा चड्ने परीक्षा बारे गन्थनिँदै छौं। ’चिट’ अङ्ग्रेजीबाट नेपालीमा भतुवा लाग्न आएको शब्द हो। आगन्तुक शब्दको रूपमा ‘चिट’ नेपाली बृहत् शब्दकोशमा लम्पसार परिसकेको छ- दशकौं दशकौं अगाडि। नेपाली बृहत् शब्दकोशले ससम्मान ग्रहण गरेको यो शब्दाबारे अनविज्ञ कोही पनि छैनन् भन्न सकिने आधार प्रशस्त छन्। नेपाली शब्दभण्डारमा भण्डारन लाग्न आइपुगेको यो भण्डारे, भतुवा ‘चिट’ नेपाली वर्णमालाको चरीचुच्चे ‘च’ भित्र खाँदिएर जो कोहीलाई पनि चिथोर्न आइपुग्छ। नेपालको कुना कन्दरादेखि विकसित सहर बजारसम्म एउटै हैसियतले जरो गाडेर बसेको यो अङ्नेपाली शब्द लिसोझैं टाँसिएको छ, काइझैं जमेको छ र चट्टानजस्तो अडिग छ।
‘चिट’ शब्द अङ्ग्रेजीमा क्रिया र नाम भएर देखा परेको भए पनि नेपालीमा भित्रँदा नामको रूपमा भित्रिएको पाइन्छ। ठेट नेपाली शब्दहरू शब्दकोशबाट क्रमश: पलायन हुँदै पातलिँदै जाँदा, अन्य भाषाभाषीका शब्दहरू तँ छाड म छाड गर्दै खप्टिँदा यो बेसरमी पनि भित्रियो। यस्ता शब्दले हाम्रो नेपाली भाषाको शब्दकोश भण्डार बढेको र नेपालीको स्तर बढाएकै छ भन्नु पर्ला। आखिर विश्वब्यापिकरणको प्रभाव हाम्रो भाषामा नपर्ने कुरा भएन्। एउटा कुरा यहाँ प्रष्ट्याइहालुँ म भाषाविद् भने होइन। म यहाँहरूलाई निवेदन गरौं ‘चिट’ शब्दबारे धेरै कोट्याएर आफैं जिल्लिन इच्छा राख्तिन्। भाषागत अल्झनलाई, बल्झन नदिने किसीमले बिटमार्ने प्रयत्न गर्दैछु। यस अकिञ्चनले जनजिब्रोमा अल्झेर बसेको ‘चिट’ शब्दबारे केही कोर्ने जमर्को मात्र गरेको रहेछ भन्ने सम्झि, फिस्स हाँसे पनि भयो, ओठ लेब्य्राउँदा पनि भयो। अमिलो डकारे पनि भयो, अपान वायूबाट छोडे पनि भयो, पापको भागी हुनु पर्दैन्।
‘चिट’को शाब्दिक अर्थ ‘परीक्षामा अवैध साधनका रूपमा चोरी गर्ने मनसायले परीक्षार्थीहरूले छलपूर्वक प्रयोग गर्ने टिपोटपत्र’ भनेर नेपाली शब्दकोशले प्रस्ट्याएको छ। अर्थलाई नै आधार मानेर भन्ने हो भने पनि परीक्षा र चिटको अन्योन्याश्रित सम्बन्ध छ भन्दा अर्गेलो नठहर्ने भयो। त्यसो त चिटलाई रामबाण, भने पनि हुन्छ। वनारसको साँड भन्दा पनि फरक परोइन्। यसमा फलामे बार भत्काउन सक्ने तागत हुन्छ भनेर किटानी गरिएको छ। बास्तबमा हो त, धनुष बाण। त्यो चिर्कटोरुपी बाणले सादा कागतमा भेदन गरेपछि परीक्षाको नतिजा नहेरे हुन्छ, सोझै कलेजमा भर्ना फारम भरे हुन्छ भन्ने विज्ञहरूको भनाइ रहेको पाइन्छ। गुल्टनु पर्दैन् , हच्कनु पर्दैन्,सर्केर मस्कँदा हुन्छ। यसको महिमा खासगरि नेपाल देशमा एसएलसीको परीक्षामा सामेल हुने भविष्यका कर्णधारले गाउने गर्छन्। चिटको गीत गाएर धित नमर्ने कत्ति छन कत्ति। चिटका नाताले मित बनेर प्रित गाँस्नेको कमी पो कहाँ छ’र! परीक्षाकालभरि यसलाई लाउने र ओछ्याउने पनि छ्यासछ्यास्ति पाइन्छन्। त्यसो त धेरथोर मात्रामा छिमेकी देश लगायतका देशहरूमा पनि यसले विभिन्न रूपमा प्रवेश पाएको कुरा सुन्नमा आउँछ।
चिटरुपी छुसीको यति प्रशस्ति गाएपछि यसको बासस्थान बारे जिज्ञासा हुनु स्वभाविकै हो। ऊ बस्ने ठाउँ सामान्य आँखाले भेउ पाउन सक्तैन्। यसको लागि दिव्य चक्षु चाहिन्छ। यसको बास मानव शरीरको अत्यन्त संवेदनशिल र गोप्य क्षेत्र, अन्तरकुन्तरमा हुने गर्छ, जहाँ सामान्यतया: अरूको पहुँच सामान्य अवस्थामा हुँदैन्। चिटको बास भएको ठाउँ हपहपाउँदो स्थानमा हुन्छ। गर्मी ठाउँमा बास बसे पनि बाफिलो ठाउँमा यो टाक्सिन्छ। चिस्यानमा बस्दा यसलाई पोलीयो भन्ने बिमारले गाँज्न सक्छ। यसको अनुहार बिकृत हुन्छ। शक्ति क्षीण हुन्छ। भाँती नपुर्याइ लालीपाउडर बेसकन पोतेर गर्मीमा हिँड्दै गरेकी नयाँ बेहुलीझैं देखिन्छ। ‘चिट पात्र’ त्यतिखेर ‘वाँदरको पुच्छर लौरो न हतियार’ हुनपुग्छ। ठन्डामा यसले डन्डा खाने डर भएको र जीवन नै जोखिममा पर्ने हुँदा हम्मेसी यो खुल्ला ठाउँमा बिचरण गर्दैन। यो नातिशितोष्ण अर्थात् न अति गर्मी न अति जाडो मौसममा कापकापमा गुजमुजिएर बसेको पनि हुनसक्छ। यो खुट्टाको तलुवादेखि, मलुवा सुर्तीको खोलसम्म भएर, नजानिदो पाराले बसेको पनि कताकतै पाइएको छ। यसले बाहिरी छोपुवा वा बोक्रो लाउन नमिल्ने भएकाले यो प्राय: नाँङ्गै बस्न मन पनपराउँछ। यसर्थ यो स्वभावैले, लज्जालु जातमा पर्छ।
ऊ आफू क्रियाशील भएको बेला कसैको कुदृष्टि यसले सहनै सक्तैन्, तत्कालै मर्छ या मारिन्छ। यसमाथि बाह्य मानिसको दृष्टि, शनि महारजको दृष्टिझैं हुन पुग्छ। बेलाबेला यो हस्त अङ्गुली भित्र ऐंठन भएर छटपटाएको बेला सेता मिलेका मुसा दाँते छिर्केमिर्के अनुहार देखाएर छिनमै अलप हुन्छ। यो निशाचर अक्षर भएर पनि उज्यालो नभेटि जीवन्त हुँदैन्। यसले बाहिर विचरण गर्ने अवसर पाउँदा पनि कसै न कसैबाट परिवेष्टित हुन्छ। यसको सुरक्षाघेरा अत्यन्त बलियो हुन्छ। घपल्लक्क मुख छोपेर बस्छ। र बाहिरीयाको पदचाप केही टाडा पुगेको भान हुनासाथ पिलिक्क आँखा खोल्छ, बन्द गर्छ, अनि फेरि पिलिक्क आँखा खोल्छ फेरि बन्द गर्छ। हो कि होइनजस्तो गरिरहन्छ। यो क्रम करीब तीन घन्टासम्म चल्छ। तन्द्रामा भएको जुवाडेजस्तो। यसलाई काँध हाल्नेलाई चिटार्थी भनिन्छ। चिटार्थी बाहिर बस्ने बहानामा ट्वाइलेट जाँदा सास फेर्ने अवसर पाउँछ। यसको आयु सामान्यतया: तीन घण्टाको हुन्छ। अर्थात् बाहकले यसलाई अरथीमा हालेर जाँचरुपी घाट लान्छ र सामान्यतया: उतै बिसर्जन गरेर आउँछ। असामान्य अवस्थामा यो उदरस्त हुने हुँदा यसले बाध्य भएर मानवका अन्तकुन्तरका घुमाउरो र अध्यारोबाटो हुँदै पिसिएर, अरूसँग मिसिएर, कालो दुलोबाट गन्धे भएर निस्कनु पर्छ। यो कृया कार्यन्वयन हुन सामान्यतया: बाह्र घन्टादेखि, चौबिस घन्टासम्मको हुन्छ। आउँ पर्दा र पेट खुकुलिँदा केही भन्न सकिन्न्। गन्धे आचीसँग लटपटिएर छटपटिँदै रागेटाटे भएर बस्नु पर्ने पनि हुनसक्छ। आयु नपुगी यौवनमै यसरी लाउँलाउँ खाउँखाउँ बेलामा सिल्टीनुलाई आत्मघाती मृत्यु वा आत्महत्या भने हुन्छ।
जन्मदा यसको भविष्य अत्यन्त उज्यालो हुन्छ। यसलाई आल्टापल्ट्याइ गरेर यसका पारखीले खुपै तारीफ गरेका हुन्छन्। ‘हुने बिरुवाको चिलो पात।’ यो चिटरूपी छिट सादा कागजमा बहुतै मिनेतले तयार गरिएको हुन्छ र यो बहुतै मिहिनेतले पट्याइएको हुन्छ। यो पट्याउने कला हरकोहीलाई आउँदैन्। त्यसो त चिट पट्याउन, बेहुलाले लाउने माहुर पट्याउनेलाई पनि हम्मेहम्मे नै पर्छ भनिन्छ। सिकारु परे भने निर्माणकर्ता र प्रयोगकर्तालाई पनि पट्याउने कला आउँदैन्। यसलाई सफलताकासाथ प्रयोग गर्न यो लेखिएका बखतका हर्ताकर्ता हाम्रा प्रधान मन्त्री श्रीमान् झलनाथ खनालज्यूकोजस्तो अर्जुनदृष्टि अपेक्षित छ।
चिटलाई ‘बुटी’ भन्नेको कमी पनि छैन्। धामी, झाँक्रीले मन्त्रेर कागज, कपडा, वा कुनै धातुमा अछेता फूलपाति खरानीमाटोजस्ता सामान लपेटेर घाँटी, कम्मर वा हातमा बाँध्ने बस्तुलाई हामी बुटी भन्छौं। बुटी भन्नाले खास गरी केटाकेटीलाई लगाउने ‘जन्तर’ भन्ने बुझिन्छ। बुटी बाँधेपछि लागलगान, भुतप्रेत पिसाच, डाकिनी,साकिनी सबै छु मन्तर हुन्छन्। चिटरूपी बुटीले परीक्षार्थी होइन कि चिटार्थीहरुको बाह्रैसुर कसेर सुरक्षित पार्छ। क्षमा गर्नु होला, चिटमा मात्र भरपरेर परीक्षामा सामेल हुनेलाई मैले ‘चिटार्थी’को सँज्ञा दिएको हुँ। धेरै वर्षको अनुसन्धानबाट पत्ता लागेअनुसार यस प्रयोजनका लागि यतिको शक्तिशाली र सुरक्षित यन्त्र अहिलेसम्म फेला पार्न सकिएको छैन् भन्ने अन्वेषकहरूको ठहर छ। यो चिटरूपी बुटी गंज्याए पछि जस्तोसुकै परीक्षाको बाढी किन नआओस मनुवाले परीक्षारुपी बैतरणी पार गर्छ। यसमा सन्देह नमाने हुन्छ भनिएको छ । चिटरुपी छिट नपाएर कन्चटमा चिटचिट पसीना काडेर फिट हुनाका डरले ढिँड भएर जिउज्यान दिने चिटार्थीको बयान गर्ने कुरा दालभात खाएजस्तो सजिलो पक्कै छैन। यसलाई ठाउँ, भाषा र समयअनुसार विभिन्न नामले सम्बोधन गरेको पनि पाइन्छ। यहाँ सबै उल्लेख गर्न असम्भवप्राय: देख्छु। यसबारे सबैका आआफ्ना अनुभव हुन सक्छन्। यसै मेसोमा मेरा अनुभव राख्ने धृष्टता गरेको कुरा सविनय निबेदन गर्दछु।
एक पटक यो पङ्क्तिकार काठमाण्डूको उत्तरी भेगको एउटा गाउँठाउँ पुगेको थियो- मेरा सहकर्मीको घरमा निम्ता मान्ने सिलसिलामा। काठमाण्डूको रत्नपार्कलाई सहरको केन्द्र बिन्दु मान्ने भने पनि म गएको ठाउँ देशको राजधानीबाट मुस्किलले दश किलोमिटरभित्र पर्दो हो। मैले ऊल्लेख गर्न खोजेको ठाउँ गोकर्ण नपुग्दै बाटैमा पर्छ। त्यस ठाउँलाई के भन्छन, ठ्याक्क मैले नाम बिर्सें। म त्यहाँ पुगेको बेला त्यस ठाउँका केही जवान ठिटाहरू गलामा माला लगाएर गुन्टा कसेर लडाइँमा जान तयार भएजस्ता देखिन्थे। उनीहरूलाई हेर्दा जो सुकैले पनि हाम्रो वीर गोर्खालीको विरताको गाथा स्मरण गर्न सक्थ्यो। उनीहरू कुनै पनि बेला शत्रुका शिर छेदन गर्न तम्तयार भएर बसेकाझैं देखिन्थे।बस! आदेशको पर्खाइमा छन्। यसपटक राम्रो गर्नु, पोहोरकोजस्तो होला, होस गर्नु आदिजस्ता अर्ती अभिभावकहरूबाट लिँदै बिदाबारी हुने तरखरमा थिए। मैले मनमनै कल्पें यी युवकहरू पक्कै पनि कि त सेनामा जागिर खान जाँदैछन् नभए पनि विदेशतिर हानिए। बिचराहरू के पो गरुन आखिर केही त गर्नु पर्यो। दुईमा एक हुनु पर्छ, पक्कै हो नत्र बाबुआमाले यत्रो तामझाम गरेर कसरी बिदा गर्दा हुनन्। र पनि मन मानेन सोध्नै पर्यो भनेर एकअर्कामा प्रितीपूर्वक जोडिएर बसेका ओठ बलजफ्ती खोलें। आखिर हाम्रा भविष्यका कर्णधार, होनाहार युवक बारे जान्ने अधिकार मलाई नभएको त होइन।
“होइन् यी भाईहरू कता जान लागेका हुन, होला? बडा फुर्तिला र कमकरी देखिन्छन्।” मैले मेरो जिज्ञासा मेरा सहकर्मी अगाडि बिस्तारै ओछ्याएँ।
“कहाँ हुनु नि! यी हरिलट्ठक, हरिलम्फूहरू एसएलसी दिन हिँड्न लागेका।”
अकल्पनीय जवाफ पाएर मैले निधार खुम्च्याउँदै सोधें;
“होइन मैले त बुझिन के अरे? एसएसलसी दिन फेरि यहीँ….पनि त..” भन्दा नभन्दै तिनले गुह्य करा बिस्तारै खोले;
‘यी हरिपहरूले एसएलसी दिन थालेको तीन कि चार वर्ष भयो, मुर्दारहरू कसै गरे पास हुँदैनन्। यसपालि कता हो नाम पनि आदउँदैन तेस ठामको, एउटा सेन्टरबाट फारम भरेका छन्। त्यहाँ खुलेआम चिट चोर्न पाइन्छ अरे। त्यतै जान लागेका। ऊ त्यो उतातिर उभ्भेको पातलो जुल्फी पालेको केटो छ नि! त्यो बडो बाठो र’छ। पोहोर त्यतै गएर फस्ट् डिभिजनमा पास भएर आएर पढदै पनि छ, काहाँ! जागिर पनि पो खान थाल्यो त! सबै बेबस्ता तेसैले गरेको। ए! अस्ति नै देखि चिट बनाएर सबैले फोटो कापी बोकेका छन्। यसपालि त पास गर्लान नि। सर, मेरो छोरो पास भएपछि त जागिर त दिनु पर्छ है, अहिले भनिराखेको छु।” “जानेमा हाम्रो ठिटो पनि छ क्या!” मेरो देब्रे कानमा उनको तातो हावासँगै शब्द ठोक्कियो। तातो हावामा रक्सीको हरक पनि आयो। मैले नजानिँदो पाराले नाक अर्कैतिर तेर्छ्याउने कोसिस गरें। यति कुरा बिसाए पछि उनी मलाई हेरेर फिस्स हाँसे र छोरालाई सगुन ख्वाउन उठे।
उनी हाम्रो अफिसमा सरसफाइको काम गर्ने इमान्दार कर्मचारी हुन्।
मैले यसबारे बढी कुरा गर्न आवस्यक ठानिँन् र अहिले पनि ठान्दिन, किनकि मैले उनको सवालको जवाफ दिन जाँनिन्। त्यत्तिकै थचमरिएँ।
यसै सन्दर्भमा, फेरि अब अर्को प्रसङ्ग पनि कोट्याउँ कि, जस्तो लाग्यो। जन्ती गएका बखत काम नहुने। जन्ती जानको बेग्लै मज्जा। सबै वर्गका मान्छेहरूसँग एउटै थलोमा भेटघाट हुन्छ। थरीथरीका कुरा थरीथरीका मान्छे।
अहिलेलाई हामी माथिको प्रसङ्गलाई नै अगाडि बडाउँदै छौं।
यसपालि जन्तीमा मैले गुरुबाबुहरूसँग सङ्गत गर्ने मौका पाएँ। लामो समयदेखि बोधो भएको दिमाग तिखार्ने सुनौलो अवसर पाएर धन्य! धन्य! हुने मौका जुराइदिने आफन्तलाई मनमनै नमन गरें।
स्वभावत: गुरूबाबु , परीक्षा, चिट, डेस्क, बेन्च पढाइ स्कूल आदिसँगै जोडिएरै आउने भए।
एसएलसी सकिएर उत्तर पुस्तिका परीक्षण गर्ने समय परेको रहेछ।
नेपाली विषयको एसएलसी स्तरको उत्तर पुस्तिका जाँच गर्दैगरेका एकजना गुरुबाबुले परीक्षार्थीको उत्तर पुस्तिका जाँच्दै गए। उत्तर निकै राम्रो छ। नम्बर दिँदै गए। नौवटा उत्तरमा पाएको नम्बरले नै परीक्षार्थी राम्रै अंक पाएर उतीर्ण हुने देखियो। अन्तिम प्रश्नको उत्तर हेर्दा मात्र गुरुबाबुको दिमाग चकरायो। एकजना कविको जीवनी लेख्ने ठाउँमा अर्का समाजसेवीको जीवनी लेखेको छ।निकै लामो प्रयासबाट गल्ती त्यति मात्र भएको पत्ता लाग्यो, अरु सबै ठिक छ। त्यसपछि त्यसै सेन्टरका अरु पनि उत्तर पुस्तिका पल्टाएर हेरे। प्राय: सबैको एउटै किसीमको उत्तर छ। भएको के रहेछ भने, चिट बनाएर दिनेले सम्भावित उत्तर लेखेर दिँदा कापीको एउटै पन्नामा अगाडिपछाडि दुईजनाको जीवनी लेखेर दिएको रहेछ। उत्तर लेख्नेले उस्तो ठुलो गल्ती गरेको त होइन केवल चिट पल्टाउन र प्रश्न हेर्न मात्र बिर्सेको रहेछ। जान्नेलाई प्रश्न पनि पो, किन हेर्नु पर्दो र’छ र! माथिका त ठिक सारेकै हो। धस्काउन त उसले त्यतिको भाँती पुर्याएर नै धस्क्याएको भन्ने ठहर भयो। अन्त्यमा , नौवटा प्रश्नको सही जवाफ लेखेर राम्रो काम गरेको कुरालाई सकारात्मक हिसाबले हेर्नु पर्ने र एउटा उत्तरमा तलमाथि परेको कुरालाई बढाइचडाइ गर्नु अनुपयुक्त हुने ठाँनि, हामी बेहुलो लिएर जन्तेबाख्रो खान हतारहतार घर फर्कियौं।
यसरी विद्वतापूर्वक चिटको बिट मार्न सकेकोमा हामी सबै दङ्ग थियौं।
यी दुबै उद्धरणबाट दीक्षित भएका हाम्रा भविष्यका शिक्षित कर्णधारले देशलाई काँध हालेर हिँड्दा देश कति शोभायमान हुँदो हो हेर्नाको इच्छा बहुतै भएको छ। बाँचे सौभाग्य मिल्ला भन्ने ठाँनेको छु। तपाईँलाई नि?