Continue reading

Posted on by गोर्खाली | Leave a comment

आज के लेखूँ ?

आज के लेखूँ ? क्रमस:

हामी अरग्यानिकका कुरा गर्दै रहेछौं। अस्ति त्यत्तिकै बिसाएका थियौं। त्यै दिन जुन दिन हामी अरग्यानिक बारे कुरा गर्दै थियौं मेरा एकजना सम्बन्धि इलामबाटै हाम्रो घरमा टुप्लुक्क आइपुग्नु भयो। मलाई थाहा थियो उहाँको गाउँ ओख्रेमा अर्ग्यानिक साग सब्जी उत्पादन गर्न सुरु भएको छ भन्ने कुरा।त्यस काममा मेरा एकजना भाइ पर्ने र अरु पनि मिलेर अभियान थालेको कुरा प्रकासमा आएको थियो। त्यस पुनित कार्यलाई म कार्यरत संस्थाले केही रकम ऋण स्वरुप  वित्तीय सहयोग उपलब्ध गराएको थियो। त्यस कार्यमा इलाममा कार्यरत गैर सरकारी संस्थाले पनि सहभागि भएर सहयोग उपलब्ध गराउँदै आएको रहेछ।

उहाँ भन्दै हुनुहुन्थ्यो” यसपाली मैले तीन मन आलु रोपेको करीब चालीस मन फलेछ। हारालुछ भयो। किन्न खोज्नेलाई दिन सकिएन्।”

आम्दानी कति भयो?

करिब अठ्ठाइस हजार।

खर्च?

टाकनटुकन करीब दश हजार।

हामीले हिसाब लगायौं दश हजार लगानी गर्दा चार महिनामा, चोख्खो अठार हजार आम्दानी भयो।

“तेसो भए त अब बढाउनु पर्‍यो। डटेर लाग्नु पर्‍यो, यस्तो फाइदा हुने पेशा। उत्पादीत सामानको लागि सबै भन्दा ठुलो समस्या बजार। बजारको दुखै भएन्। घरबाटै बेच्न सकिने। आफूलाई मात्र नभएर यस्तो कार्यले समाज र राष्ट्रलाई नै फाइदा हुने। अर्को शब्दमा भन्दा इहलोक परलोक दुबै सुध्रिने। हामी विषादी हालेको खाने कुरा खाएर छिन्नै लागि सक्यौं। देख्ता मान्छे देखिए पनि अर्को अर्थमा भन्दा मान्छे रोगको पोको  भइसक्यो। के मा विषादि छैन्? हावा त दुषित छ छ, याबत खाद्यान्य दुषित छन्। यस अवस्थामा तपाईँहरूको कामको जति प्रशंसा गरे पनि कमै हुन्छ। म अझै थाकेको थिइन । अर्काले गरेको काम आफूले सिन्को भाँचेको होइन्, यसका गुण-दोष , राष्ट्रीय, अन्तराष्ट्रीय परिप्रेक्षलाई दाँजेर म बढो जान्ने भएर जिब्रो पड्‍काइ पड्‍काइ भाषण छाँटतै थिएँ। उहाँले मलाई बोल्न रोक्नु भयो। मैले जबर्जस्ति बोल्न रोकें । सयको गतिमा दौडँदै गरेको गाडिलाई एकाएक ब्रेक लाउँदाको आवाज सहित म घ्याच्च रोकिन बाध्य भएँ।

उहाँ गम्भीर हुनुहुन्थ्यो । जब मान्छे गम्भीर भएको देख्छु तव म दालमा कालो देख्छु र आकासमा कालो बादल मडारिन थालेको मलाई भान हुन्छ।

उहाँले कुरा सुरु गर्नु भयो। “यहाँको कुरा सोह्रै आना ठीक। तर.”… केहीबेर रोकिनु भयो।

मैले उहाँ बोल्न रोकेको बेलालाई सदुपयोग गर्दै भनें “तर किन?”

मलाई थाहा छ मैले कता सुनेको छु समय पैसा हो भन्ने कुरा । मैले प्रश्‍न खडा गरेर समयको सदुपयोग गरें।

तर गर्ने कसले?

भन्नाले?

“भन्नाले घरमा हामी बुढाबुढी मात्र छौं। उमेरले पनि बिस्तारै डाँडा काटतै छ। आफैं काम गर्न सक्न छोडियो। केटा केटी घरमा छैनन्। आजका आम नेपाली परिवारजस्तो। बुढाबुढी टक्र्याकटुक्रुक्क। आफू त गोठालै भएर बित्यो, अबका केटाकेटीलाई चैं त्यसबाट मुक्ति दिन त्यता तिरको काममा लाइएन्। गोठ तिर जानै दिइएन्। अहिले गरन त भन्दा पनि गर्दैनन्। पर्थमा जाँन्दैनन्। गाउँमा पर्म चल्थ्यो त्यो पनि चल्न छोड्यो। सबै हुर्केका केटाकेटी सक्ने अमेरिका, युरोप नसक्ने कतार, साउदी कताकता लागे। गाउँमा काम गर्ने मान्छेको अभाब भयो। सबैलाई आफ्नै काम भ्याइनभ्याइ छ। कसले अर्काको काम गरोस!”

उहाँ भन्दै हुनुहुन्थ्यो,”पैसा त छ आफ्नै देशमा छ। हावामा उडिराखेको छ। पक्डन सक्नु पर्छ। मेरा भाईले कुरिलाको खेति करीब दुई रोपनीमा गरेका छन्। आम्दानी पनि राम्रो छ। बजारको अभाव पनि छैन्। तर, ख्वै! हिजोआजका केटाकेटी के भए के भए? भन्दा पनि हामी आफैंले के बनायौं के बनायौं? अर्काको देशमा गएर गोठालो हुन तम्सन्छन्, आफ्नोमा मालिक हुन मन गर्दैन्। कस्तो संसकृतिको विकास भयो थाहै नभइ? हिजोको समाज त कहाँ गयो कहाँ। हामी भताभुङ्ग भइसक्यौं।

अझै उहाँ थप्तै हुनुहुन्थ्यो “यही अर्ग्यानिकको नाममा विदेसि दात्री संस्थासँग हात थाप्तै पाँच तारे हुटेलदेखि भट्टी पसलसम्म यसको बारेमा ‘क’ सम्म नजान्ने आकासपाताल जोडेर भाषण ठोक्तै हिँडेका छन्। एक पटक फिल्डमा जाउँ न त गएर के कस्तो गर्‍या रान! गरौं, हेरौं भन्दा हिलो, धुलो लाग्छ, घामले छाला डड्‍छ भनेजस्तो गर्छन्। पाइला हाल्ने ह्वैनन्। सरकार कानाँ तेल हालेर बसेको छ। नेपाली आफू गरीखाने जात त कहाँ हो र ! सबै अर्काको दास हुन पल्केका। त्यसमा पनि अलि पढेलेखेका भन्ने त रिपोट बनाए, बुट्टा भरे आफूलाई कस्तो बनाउँदा फाइदा हुन्छ त्यसै गरे, हातमा कलम छँदैछ। अरुले पत्याएकै छन् । यस्तै छ है हजुर! ठ्याक्कै तपाईँजस्ता।”

म विलाउन सक्ने भए बिलाउने थिएँ जस्तो भयो। मेरो बोली सुक्यो। नौनारि गले। मैले उहाँको अन्तिम वाक्य सुन्न सकिन्। लाजले रातोपिरो भएँ।  उहाँले मौकैमा,म र मजस्तालाई मज्जाले रननन् हुने गरी थप्पड हान्नु भयो। कुन बेलामा कुरोको चुरो फोरिएछ जस्तो भयो।

“छोरीलाई जागिर लगाइदिन सके ढुक्क हुने थियो त्यही कामले……।” भन्दै ख्वुइय गर्दै टोपी झिकेर टेबलमा राख्‍नु भयो।

एकाएक कोठामा शान्ति छायो। शान्त वातावरणमा कसैले आएर ढुङ्गो हान्यो।

बाहिर कोही मान्छे काठमाण्डूबाट आउनु भएको छ।

नमस्कारको आदानप्रदान पश्‍चात चिया खाने सन्दर्भमा फेरि कुरा घुम्दै अरग्यानीकमा गएर ठोक्कियो।

म त्यसैले हानेको ताजा घायल।  काठमाण्डूबाट आउनु भएका मित्रको आगमनमा पातलो हाँसो मुखमा छरेंको थिएँ। फेरि अरग्यानिकको कुरा उठदा केही असपट भयो।

यसै सम्बन्धमा  उहाँले,  सुन्दा आश्‍चर्य लाग्ने तर सत्य कथा सुनाउनु भयो।

“यो काठमाण्डूको कुरा हो। केही दिन अगाडि, म सब्जी किन्न भनेर बजार गएको थिएँ। रामदेव महाराजले लौकाको गुनगान गाइदिन थालेपछि, त्यसैको लौको त्यसमाथि, भाउ अकासिएर किन्न सक्नै छोडियो। हत्तपत्त पाइँदैन पनि। मेरो भाग्य नै भन्नु पर्‍यो त्यस दिन भनें चिल्लो, सलक्क परेको हेर्दै खाउँखाउँ जस्तो करीब दुइ केजीको लौको पाएँ। किनेर मुख मिठ्याउँदै घर पुगें। बेलुकीको खाना तयार भइसकेकाले लौको फ्रिज भित्र राखेर सुतियो। बिहान सब्जी तयार गर्नु पर्‍यो भनेर फ्रिज खोल्न खोल्दा फ्रिजको ढोका अलिकति खुलेको गहेछ। कसरी फ्रिज खुले छ त! भनेर हेर्दा, हिजो किनेको लौको त रातारात बडेमानको भएर गजधम्म परेर फ्रिजको ढोकानै खोलेर कतिखेर मान्छे उठछन र मलाई निकाल्छन भनेजस्तो गरि चिहाएर हर्दै र’छ। जोखेर हर्दा पाँच किलोको थियो। यो भएकै घटना हो।” हामीलाई यहाँ भन्दा बढी सुन्नु थिएन, बुझ्नु थिएन। थियो त सके गुन्नु, नभए कान थुन्नु।

हामी रुन्चे हाँसो हाँस्तै आआफ्नो कार्य क्षेत्र तर्फ डटेर लाग्यौं।

अब पनि थप कुरा सुन्ने यहाँलाई इच्छा छ?

मेरो बिचारमा हाम्रो बहादुरी अब धेर नभट्याउँ होला होइन? मेरा त हात दुखे!

विषादी खानाको असर त होला नि! कि मैले गल्ती भनें?

 

Posted in हाँस्य ब्यङ्ग | Leave a comment

आज के लेखूँ ?

 

आज के लेख्‍ने? घोरिँदै थिएँ। मोबाइल नामको धातु, प्लास्टिक मिश्रीत इलेकट्रोनिक दाविलो, अनुराधा पोडुवालको आवाजमा गयत्री मन्त्र थर्काउँदै घन्कियो। पहिले पहिले गायत्री मन्त्र जप्दा भरसक मनमनै जप्नु पर्ने, ओठ मात्र चलेको हुनु पर्ने, अरुले सुन्नु नहुने, त्यसमा पनि महिलाले त सुन्नै नहुनेजस्ता परम्परालाई लोप्पा ख्वाउँदै  अनुराधाको कोकिल कण्ठ श्‍वर तरङ्‌गित हुँदै थियो। यसरी मेरो छेउमै मच्चेर झङ्‍‌क्रित हुँदै गरेको मोवाइल उठाउन लम्कें। मैले उसको लागि हरीयो बत्ती बालिदिए पछि आवाज हावामा कावा खाँदै मेरो कानमा बज्रिन आइपुग्यो। फोन मेरो भतिजाको फिक्कल ,बरबोटेबाट रहेछ। हिजोआज फोनबाटै दर्शन खाने चलन छ। ‘मैले दर्शन गरें!’ उनको पहिलो वाक्य थियो। त्यसो भन्दा सायद उनी केही झुके पनि कि, दाह्रा किटे कि, धारे हात लगाए थाहा भएन्। दुबै तिर अनुहार देखिने मोबाइल हातमा भएको भए आजको जस्तो लापर्बाह भएर दर्शन छाँटन अलि गाह्रो हुन्थ्यो होला कि! अनुहार हेरेर हाउभाउ पत्ता लगाउन सकिन्थ्यो होला। मैले जे सुकै चिताए पनि उनको आवाजमा म प्रति सम्मान झल्केको कुरा मेरो  बिबेकले ठहर्‍यायो।

मैले  ‘अँ! दर्शन, दर्शन’ भनें काका हुनुको रोब जमाउँदै। शब्दमा रोब भए पनि मैले मेरो धोती खुस्केको थाहा नै पाइन्। अर्थात् मैले पनि परोक्ष रुपमा तिम्रो दर्शन गरें भनेजस्तो भयो। जब कि मैले भन्नु पर्दा ‘आशिर्वाद’ वा ‘चिरन्जिवी भएस्’ आदि भन्नु पर्ने थियो। तर ती शब्द त बुढाबुढीको ठेक्का पो हुन क्यारे! मजस्तो पैंतिस चालीस वर्षैदेखि सेतै फूलेका कपाललाई नक्कली कालो मोसो धसेर बरिएको पट्ठोले कहाँ भन्न मिल्छ र !भन्नु ‘आशिर्वाद।’ तर भला, यिनै छन् त त्यति पनि गर्दैछन्। भोलिकाले त त्यति पनि कुन्नि! अनिकालको बेलामा पा’को। के को भद्रो हेरिरनु जस्तो लाग्यो। भतिजाको दर्शन कसरी नखानु ‘हँग्रायोले पाँङ्रो निल्दा’झैं सुलुत्तै निलें। त्यो ‘हँग्रायो’ भन्ने पक्कै जीव नै होला ! कहाँ हुन्छ, कस्तो हुन्छ तर हाम्रो बोलिचालीको भाषामा हत्तपताएर खाने कुरा खाँदा  हाम्रा  मुखमा प्राय: हँग्रायो जुर्मुराएर आउँछ।  म भनें भतिजाको दर्शन खाएर आनन्दको सागरमा पौडें। ठीकै त गरे, नमस्कार त टाडाका लागि गरिन्छ, औपचारीकता पुर्‍याउन्। आफूले ढोग्नु पर्ने मान्छेलाई अचेल फोनमा दर्शन छाँटेर काम चलाउने जमाना छ।

यसै मेसोमा म मेरा कान्छा हजुरबालाई यसरी नै लामो समयदेखि ‘दर्शन’ छाँटतै थिएँ, फोनमा। भेटता पाउ नै पर्छु। हाम्रा जिहजुरबा पुस्ताका एकै जना जिलो। हृदय देखि नै ढोग्छु। फेरि त ती गोडा कहाँ पाइन्छ र! म आधुनीक तर अनुसाशित नाति भएर परोक्षमा स्याबासी थापेर स्याबासीको झोली भर्ने ताकमा थिएँ। एक दिन कुरै कुरामा हिजोआजका केटाहरू फोनबाटै ‘दर्शन छाँट्न थालेका छन्’ भनेर भन्नु भयो। ती शिष्टशब्द बाण, पक्कै मलाई नै ताकेर हान्नु भएको हुनुपर्छ भन्ठानें। म छाँगाबाट खसें। ‘मान्छे कहाँ बसेर कुरा गर्‍या छ अगाडि नै भएझैं दर्शन भन्छन्।’ त्यति कुरा सुने पछि आत्मआलोचना गर्दै, अचेल म मेरा श्रद्धेय हजुरबाका लामा गोडा सम्झेर ‘मैले ढोग गरें’ भनेर हिचकिचाउँदै भन्ने गरेको छु। फोनमा सम्मानसूचक शब्द के भन्ने अलमलमै छु। आफूले जन्मैदेखि चलाको दाविलो भए न हो। आफू पनि घोर्ले भइवरी रागेटाटे भइसके पछि भित्रिएकाको, संस्कार कसरी जान्नु र भाँती पुर्‍याएर चलाउनु। ‘ल! आशिर्वाद।’  हजुरबाबाट आएको यही शब्दले म कृतज्ञ हुँदै छाती ठुलो पारेर बसेको छु। म मा सद्‍वुद्धि पलाएकै त होला! भन्ठानेको छु। त्यसो त भौतिक रूपमा त यहाँ कहाँ बसेर उहाँको गोडा त कसरी पो भेटतो हुँ।

यथार्थमा हामी मेरा भतिजासँग मोवाइलमा भएका सम्बादका बारेमा कुरागर्दै छौं। यो मोवाइल बारे कुनै दिन बेग्लै बहस गरौंला। अब हामी विषय प्रवेश गरौं कि! कुराकानिको क्रममा उनले मलाई चियामा  विषादी हाल्ने कुरा गरे। विषादी हाल्न ढिलो भइसकेको कुरा पनि राख्‍न भ्याए। विषादी शब्द सुन्ने वित्तिकै मलाई कन्सिरी तात्छ। त्यो शब्दसँग मेरो एलर्जि छ। म अरग्यानीक मान्छे । अरग्यानीक शब्दको भाँती पुर्‍याएर नेपालीमा भन्न नजान्ने। अग्रेजीमा कसैले सोधै पेट कटक्क खाएर पाइखाना तिर छिर्ने। ओठे अरग्यानीक । धुलो, हिलो, गोबर, गहुँत ,पातपतिङ्गरबाट परपरै बस्ने। कतै गन्ध आए तीन कान्ला तल माथिबाट हिँडन मन पराउने, तर पाँच तारेदेखि भट्टीसम्म अरग्यानीक कुर्लँदै मस्ती मार्न पाए हाइसन्चो मान्ने। खाँटी नेपाली। गफाडी नेपाली। सिन्को भाँच्ने हुती नभएको तर गफले मुडकीले नै मुढो भाँच्ने क्षमता भएको नेपाली।

उनले अगाडि भनें “अस्ति आउँदा पनि त्यो थाइडिन नाम गरेको विषादी पाइएन्। त्याँ काहाँ पाइन्छ बुझेर छिट्टै पठाइदिने ब्यबस्था गर्नु पर्‍यो। नत्र भने यसपाली चिया त हिस्सै होलाजस्तो छ, लट्टे परेझै किरा लागेछन् ।”

ह्वैन! विष पनि भनेको बेलामा किन्न नपाइने ?लौ अमृत त पाइँदैन्, समुद्र मन्थन गर्दा मानौं देवताहरूले लुकाए, स्वर्ग लोक पुर्‍याए। हामी पृथ्वी बासीलाई जताततै विषै विष छोडेर गए त्यो पनि नपाउनु ? मान्छेहरू विषदन्त हुन्छ भन्छन्, फलानाले विष बमन गर्‍यो , देश, विदेश ,प्रदेशमा विषकै बाढी आएको छ भन्छन्। कि! हरफनमौला, यी भोले बाबा शिवजीले घाँटीमा राखिदिएर नीलकण्ठ भनाइमाग्न यो तमास रचेका हुन त! जस्तो पनि लाग्यो। पैसा हालेर विष किन्छु भन्दा पनि नपाइने? म मनमनै निकै उत्तेजित भएको थिएँ। भइहाल्यो आज शिवजी, देवादिदेव महादेवको खुइँखोत्रो तिर किन लाग्ने, उनकै दिन सोमबार नै परेको र’छ। फेरि अर्को उपध्रो मच्चाउलान भनेर चुपै लागें। फेरि विषय त वाइफालिएछ। विषयनै  लबस्तरिए पछि मेरो के लाग्छ  र! समायो ल्यायो, राख्यो ,छिनमै छिन्किन्छ, मिल्किन्छ।

 

मैले यिनलाई अरग्यानीकका बारेमा केही कुरा नसिकाइ भएन भनेर, लागें मेसो मिलाएर भट्याउन् ‘ हेर, सुन अनि गम ,अब विषादी हाल्ने ह्वैन केटा, गहुँत हान्नु पर्छ, गहुँत। गहुँतलाई जोड दिँदै भनें। गाईको गहुँत, बुझ्यौ? मानौं गहुँत भनेको गन्धे तरल पदार्थ म मात्र जान्दछु जस्तो गरिकन। न’भा तितेपातीको रस घोलेर हान्नु पर्छ। त्यो डाँडाकाडाँमा जताततै पाइन्छ नि! क्या त्यै तीते पाति! तीते पातिको पनि पुस्तौनी कन्ठ भएझैं गरी। अब यो, यो विष हान्नु हुँदैन। यसले ठुलो बिजाइँ गर्‍या छ। मान्छेको जीवनसँग खेलबाड गर्नु हुँदैन्, बुझ्यौ? पढेलेखेकाले यसो गरे पछि अरूले त झन के गर्छन्, मानिसको स्वास्थ्य नै धन हो?’ आदि आदि भनेर धार्मिक , आर्थिक, सकेको साहित्यिक, सामाजिक कुरामा प्रकास पारें। पाण्डित्य छाँटतै  उनलाई निर्देश गरें।’  उनी पुराण सुन्न मात्र  होइन  व्यवस्था  गर्न  पनि सिपालु भइसकेका , मेरो निर्देशन सुनुञ्जेल हिजोआजका पुराण सुन्न बानी परेका श्रोताझैं चुप थिए।

अब पुराण हाल्ने उसको पालि थियो।

 

‘एक त विषादी हान्ने बानी भएपछि अरू केहीले काम दिँदैन्। त्यसैको पनि क्रमिक रुपले पावर बढाएन भने किरा मर्दैनन्। अर्को कुरा गहुँत हाल्न गाई पाल्नु पर्‍यो त्यो पनि  हन्जा हन्जै, गोठै। हामी  घरका एक दुई जनाले मात्र पालेर पालिँदैन्। मान्छे पाइँदैनन्। विदेशिए।  रह्यो तीतेपातिका कुरा त्यति विधि तीतेपाति पाइँदा पनि पाइँदैनन्, तीतेपाति हुने ठाउँमा अहिले चिया, अम्लीसो आदिले ठाउँ लिइसक्यो। फेरि पाइहाले पनि अहिलेका तीतेपातिको रस त आधुनीक किराले मज्जा मानेर सेवन गरेर मोटाउन बेर छैन् । विषादी नै नक्कली आउन थालिसक्यो। पहिलाको जस्तो छैन्। क्रमिक रूपले अरग्यानीकमा नगइ त सुख छैन् त्यो कुरा त हो, तर तत्कालै सम्भभ छैन्। किरा मार्नका लागि अरग्यानीक औषधिले अहिले नै हाम्रा जस्ता ज्याध्रा किरालाई भेटतैन बिस्तारै गर्ने हो। केही अडिएर भनें ‘यस बारेमा गोष्टी, सेमिनार , हुन थालेका छन्। कतिपय बगानहरू त गइ पनि सके भन्ने सुनिँदैछ।’ उनले कुराको बीट मारे।

 

तत्कालका लागि म जिल्लिनुको बिकल्प थिएन। मैले खुम्चिनु पर्‍यो। म सहजै हारें। मेरो पाण्डित्य काम लागेन, उनले आची पुछेर फालेझैं फालिदिए।

हुन पनि हो, रक्सी खान बानी परेको मान्छेलाई  दुध पिउनाका फायदा बारे पाण्डित्य छाँटेजस्तै भयो। म अरकच्च परें।

जे होस अरग्यानीकमा जानु पर्ने चेत खुलेको रहेछ, एक प्रकारले खुसी नै पनि लाग्यो। बुझ्दा त्यो दिन चाँडै आउला जस्तो छ। क्रमस..

 

Posted in हाँस्य ब्यङ्ग | Leave a comment

तपाईँ चाहिँ गम्भीर नहुने?

ह्वैन ! आज के भएको छ तपाईँलाई गुथ्थ परेर बसेको देख्छु? मेरी जीवन साथीले मलाई ताकेर प्रश्‍नको घुएँत्रो हानीन्।

गुथ्थ ह्वैनौ! हौ। गम्भीर। भन न हौ! गम्भीर। भन्न पनि आउँदैन्? मैले लाचार भएर कनेर भनें। तपाईँलाई  थाहै छ, गम्भीर मान्छे कति लाचार हुन्छ भनेर।

गम्भीर हुँदा त मान्छे राम्रो पो देखिनु पर्नै? स्वाओस न त्वाओस। त्यसै ठुलो मान्छे हुन खोज्यो! गिदी हुने पो सोच्चछन्, गम्भीर हुन्छन्।

होइन मेरो गिदी न’भाको कुरा कसरी थाहा भयो। डाक्टरले त छ भन्थ्यो त!

डाक्टरले त के भन्दैनन्। अस्ति खबरमा पढ्या होइनौ? एउटा रोगको अप्रेसन गर्न जिउ चिरेको त्यो रोग नभएर अर्कै गर्नु नपर्नेको चैं गरिदिएर परमधाम पुर्‍याको कुरा? डाक्टरकै भरमा परेर गिदी छँदैछ भनेर ढुक्क पर न! घोडाको लिधीजस्तो हुनु न नहुनु। ल भैगो गिदीका कुरा नगरौं, किन चै गुथ्थिया रे?

गम्भीर भा भन् न हौ। कति गुथ्थ भन्छ्यौ! मुटुमा सुल नहान न…. औ!

ल! ल! गम्भीरै ।  इन्जेक्सन हानेर फूलाको फर्सीलाई असर्फी भन्नु पर्ने! अब त भन्ने होला नि? के ‘भा भनेर!

भन्ने! भन्ने! मन्त्रीले भनेर।

किन मन्त्रीले भनेका ?

त्यति जाबो कुरा पनि थाहा छैन, । सबैले गम्भीर हुनुपर्छ भनेका छन्। अरु कुरा जान्दिन। अरुले भनेको मान्दिन।  मन्त्रीले भनेको काट्‍दिन। धर्म छाड्‍दिन्।

मन्त्री भनेका को हुन त थाहा छ?

थाहा छ।

को हुन त?

ठुला मान्छे, अझै ठुला। हाम्रा बा, ठुला बा भन्दा ठुला। अग्लो  डिलबाट डर नमानि हाम फाल्न सक्ने, रुख चडन सक्ने, अर्काले लेखेका कुरा बेलाबलाँ पानी प्युँदै  पढन सक्ने, अझै भनूँ?

भए ठुला। बरू लुला चैं होलान। म त ? मरेको बिरालो काखी च्यापेर काशी हिँड्‍न लागेकाजस्तो देख्छु।

ए! मन्त्री हुन खेलाँचि छ? खप्पराँ लेखेर आउनु पर्छ। उनीहरूको मुखमा सरस्वतीको बास हुन्छ। त्यसै प्याच्च प्याच्च बोल्ने हुन र! गमेर, गुनेर, भाग लगाएर, त्यस पछी घटाएर शुन्ने आयो भने मात्र बोल्छन है! बाबै!

अँ, हो। निस्कर्ष ‘शुन्ने’ आउने गरि जनताले ‘सुन्ने’ गरि भन्छन्।

साँचि, आज त गीता पाठ गरेको पनि सुन्दिन, पूजापाठमा पनि  मन छैन् ! म छक्क परेकी छु। सुनुन्, त मेरा खसमलाई के भा’को हो?

के सुन्छौ ख्वै के भन्नु।

भन्नु न भन्नु।

मनको कुरा भन्यो भने मन पनि चङ्गा हुन्छ। मनमा कुरा खेलाएर बस्नु हुन्न क्या! बौलाइन्छ। कि! अभिताभ वच्चनको ‘चिनी कम’ रोग लाग्यो? व्यङ्ग मिश्रित स्वरले मलाई झस्क्यायो।

होइन हामीलाई त हिजो आज चिनी बढीको रोगले चिनी  देख्‍नै नहुने भइसक्यो। यस्ता आल्टुफाल्टु कुरा गर्ने दिन गए। दिल्लगी, ठट्टा, हाँसो अब सब बन्द। अब देशका कुरा मात्र गर्ने। गम्भीर हुने। देशमा भुईँचालो आउने खतरा छ अरे! थाम्न तयार हुनु पर्छ रे।

होइन, कैले?

२०६८ साल जेठ चौध  गते राती अरे।

कसरी ?

देशै हल्लीने गरि।

के को?

संविधानको अरे’औ।

त्यति जाबो कुरामा पनि गम्भीर भएर बस्ने हो? हाम्रा सभासदले लत्रेर, पस्रेर, घस्रेर जसरी भए पनि भूईँचालो आउन दिँदैनन्। ढुक्क भएर बस।  आँटिला छन्, सँचिला भएर देखा पर्छन्। होइनऔ! यिनलाई कसकसले के के कुरा भनिँदिँदो र’छ! अनि मनमा नानाथरि कुरा खेलायो। काम छैन्। अनि डरायो बाहिर भन्दा चैं ‘गम्भीर छु’ भन्यो। आडम्बरी।

तिमी गम्भीर भइरहु म चैं हिँडे मन्दिर।

जो सुकैले उचाले पनि उराले पनि म चाहिँ गम्भीर भएको छु। तपाईँ चैं गम्भीर नहुने?

 

Posted in हाँस्य ब्यङ्ग | 2 Comments

सम्बाद बाबु छोरा र आमा बीच

 

कस्को फोन?

छोराको चाइनाबाट।

के छ अरे?

राम्रो, धेरै राम्रो छ अरे। त्यसै भन्छ।

होइन के चैं राम्रो र’छ, मेरा छोराको सुनुँ न त?

ख्वै के, के चैं सुनाउनु?

तै एउटा चैं सुनुन। मलाई पनि त सुन्ने मन हुन्छ। नौ मैना पेटाँ बोकेर जन्माको पो’त! कस्तो हौ। भन्नु न के चैं राम्रो लागेछ तेस कालेलाई?

ख्वै, हिजो कता हो, शुद्ध चाइनीज भोजनालयमा खाना खा’को अरे’औ। सारै स्वादिलो थियो अरे। आज चैं खाएजस्तो भयो। खानाको धितै मर्ने। खाना खाए पछि त त्यस्तो खाना पो खानु पर्छ त भन्थ्यो।

नमिठो त खाए पो हातै हाल्दैन्, मेरो छोरो सानै देखि।

अनि ,के खाएछ त मेरा छोराले?

जिब्रो खायो अरे?

कस्तो?

तातो तातो पिरोपिरो, मुखै पोल्ने।

जिब्रि कि जिब्रो? त्याँ जिब्रिलाई पनि जिब्रो भन्छ क्यार होइन्? इस्कुसको जिब्रि खायो होला ! त्यो त पकाउन जान्दा मिठो हुन्छ।

ख्वै जिब्रो नै खाएँ भन्छ।

होइन के को जिब्रो चैं खाएछ? मेरो छोराले?

भनूँ?

भन्नोस भन्या।

साँच्चै भन्नु?

आ! कति जिस्कि’रा बुढेसकाला’मा पनि, भन्नोस न भन्नोस आफ्ना छोराको कुरा।

सुंगुरको जिब्रो अरे’औ?

के अरे?

अँ त्यही अरे।

फेरि भन्नोस त! होइन होला मेरा छोराले त्यो पनि सुं…। वाक्क गर्दै। कुल्ला गर्नु पर्‍यो ख्वै पानी। कस्तो अलछ्छिनीको नाम लिनु पर्‍यो।

लु! कान खोलेर सुन। तिम्रा छोराले संगुरको जिब्रो खायो अरे। अब त सुन्यौ?

हरे! यस्तो कुरा पनि टोलै थर्‌काएर भन्ने हो। जोरीपारीले सुने के भन्छन्। झन सारो सारो पो भन्नु छ।

अगि चैं सुनिन। फेरि भन भन भनेको ह्वैन?

हरे! हरे! राम !राम. । बाहुनको छोराले सुंगुरको जोब्रो। बाहुनले  सुंगुर हिँडेकोबाटो हिँड्‍न त हुँदैन्। त्यो पनि भोटेका देसाँ गएर, भोटे सुंगुरको। होइन यो कलि बलेकै हो? के के सुन्नु परेको। त्यसमा आफ्नै छोराले। अरूले खा’को भा’त! जान्या थियो।

सुंगुर त्यसै पनि बाहुनले छुनै नहुने।

छो’को त कस्ले भन्यो र! खा’को पो अरे, त्यो पनि मरेको।

हरे ! हरे! बाहुन भएर कसरी भन्न सक्या।

क्या’र्छेस त! अब। ओकल्नु हुँदैन खाइहाल्यो। गर्ने नगर्ने गरिहाल्यो। म क्यारूँ त भन त?

बिहान बिहान गायत्री त जप्तो होला नि? कि त्यो पनि छोड्यो, तै जे खाए पनि गायत्री त जप्या भए पाप काटथ्यो।

अस्तिसम्म त जप्तै थियो अरे अहिले त छोड्‍यो अरे।

किन र”छ?

गायत्रीले छोडी अरे।

गायत्री जप, क्या जप।

जप त पच अयो अरे।

के हो त्यो पच, भनेको?

आ! दिक्क लागिसक्यो कति कच कच । खाने कुरा पचेर गएजस्तो गायत्री पनि पच्यो अरे।

टुप्पी पालेर ! सिखा बाँधेर, जनै लाएर धोती फेरेर खाएको त होइन नि! त्यसै भनेर मैले त चित्त बुझाएँ।

कालो सुंगुर पनि त होइन।सेता सुंगुरको।

काँ त्यसो भनेर हुन्छ?

त्याँ सुंगुर नै पनि त भन्दैनन्। पर्क त यतै पनि खान्थ्यो होला। अब कत्रो खुइखोत्रो ।  आ अब छोडदेउ त्यस्तै हो के गर्नु त!

 

अगि तेसो भनेको भए’त भइहाल्थ्यो नि! बिचरा मेरो छोरो माथि कुरै नबुझी बेर्थमा पाप चिताएँछु।

 

Posted in हाँस्य ब्यङ्ग | 1 Comment

बकबक-४

 

तपाईले शिर्षक हेरेर लखकाटनु भयो होला फेरि के बिस्कुन लाएर यसले टाउको खानेभयो भनेर । तर धन्दा नमान्नोस म यहाँ चानचुने मानिसका बारेमा कुरा गर्दै छुइन। म त देशका महान नेताहरुका बारे सक्षेपमा कुरा चलाउने अनुमति माग्दैछु। अहिले म हाम्रा देशका होनाहार नेताका मुखारविन्दबाट उद्‍घाटित भएको महावाणी बारे लेख्‍ने जमर्को गर्दैछु। तलका महावाणीहरू सिद्ध योगमा, माता सरस्वतीको वास मुखमा भएका बेला प्रकट भएका हुन्। यसलाई चानचुने नठान्नु होला। यद्धपि म बाम पुडकेले हाम्रा देशका महान नेताहरूको उद्‍गार हुवहु उद्‍घाटित गर्न भाँती पुर्‌याउँदिन भन्ने मलाई नलागेको चाहिँ होइन। कदाचित, यसमा अर्नुनदृष्टि नपुगेको भए क्षमा पाउँ। अब हामी विषय प्रवेश गर्दैछौं।

केही दिन अगाडि एकजना सरकारी हन्जाभित्र छिर्न नपाएका र आफ्नै हुलभित्र पनि भालेजुधाइमा पछारिएका इतर नेताले उठेर आफ्नो कुर्तासुरुवालको धुलो टकटक्याउँदै भने;

‘जेठ चौध भित्र संविधान बन्दैन्।’

उनको बोली खस्न नपाउँदै मैले निधारमा टिपें। यस्तो शुद्ध, कन्चन, पवित्र बोली भुइँमा झर्‍यो भने बिटुलिन्छ, धुलोमाटोले छोपिन्छ भनेर जतनसाथ राखें। दिनमा एक पटक बिहान उठने बित्तिकै जप्न थालें। “जेठ चौध गतेभित्र संविधान बन्दैन, जेठ चौध………”

सहज रूपले भविष्य भन्न सक्ने यी नेता महान हुन भन्न मलाई संकोच भएन। होइन, यस्तो जटिल कुराको छिनमै छिनोफानो गर्नसक्ने मान्छे हाम्रा हजुरबा भन्दा जौडे को रहेछन त? भन्ने लागी रह्यो। हाम्रा हजुरबाले “यसपाली मेरी छोरीको बिहे हुन्छ कि हुँदैन् होला बाज्या?” भनेर सोध्नेलाई धुलौटो कोरेर नाकको ठेडीमा चस्मा राखेर गरेर भन्ने गर्नु हुन्थ्यो “यसपाली चाहिँ हुँदैन।”  ठ्याक्कै त्यस्तै लाग्यो। काटीकुटी। धेरै वर्ष अगाडि दिवङ्‍गत भएका मेरा हजुरबाको सम्झनामा निकै बेर टोलाएँ। उनको तस्वीर सजाएँ। हर्षले गदगद भएँ। नेतासँग हजुराबाको अनुहार मिलाइ हेरें तर कतै मिलेन।

आगाको मधुरो रापमा पाक्दै गरेको मकैको फ्याप्लोझैं हुनहुँनाएँ।

अर्का नेताका पनि त कुरासुनि राखौं के भन्दा रा’न भनेर कान थापें। कसैलाई घच्चा लाग्छ कि झैं गरि बुर्लुक्क उफ्रेर उच्चमा पनि महाउच्च आसीनमा विराजमान  नेताले कोमल भाषामा कसैलाई बिज्छ कि भनेझैं गरी लयालु भएर आफ्नो उदगार व्यक्त गरे ‘सहमतिमा आउनासाथ संविधान बन्छ।’

कस्तो सजिलो तरीका छ। मान्छेहरू त्यस्सै बन्दैन् बन्दैन् भन्छन्, भनेजस्तो लाग्यो। मेरा लागि उनी त झनै परमआदरणीय नेतामा दरीन पुगे। म पनि कस्तो एकजनाले भन्नासाथ उसैको पछि लाग्ने। जनता भेडो हुन्छ भन्थे हो र’छ। मैले आफैंबाट सो कुरो प्रमाणीत गर्ने मौका पाएँ।

तर जनता मानेन। फेरि मैले त्यतैतिर टाउको घुमाएँ।

जनताले प्रश्न तेर्‌छ्‌यायो’ कुर्सीका लागि झुत्ती खेल्नेले कसरी सहमति गर्छौ हौ! हन?

‘जनताको प्रश्‍न सुने पछि “कस्तो लाग्यो त ? बल्ल भेटने भयौ । खाँटी जनताका खाँटी सवाल। ल त जवाफ देउ, हेरौं त पाइन्। ए! जनता त्यसै सुतेर बसेजस्तो ठान्याछौ, होइन?” मलाई जनताप्रति सम्मान जाग्यो। म आफैं प्रति भनौं न! के को लाज।”

“विश्‍वास मान्नु होस,हाम्रा नेताहरू त्यस्ता हुनुहुन्न। उत्तर-दक्षिण, पूर्व- पश्चिम फर्केर बस्नु भएका आदरणीय नेताहरू मिल्नासाथ सहमति भइहाल्छ । धन्दा मान्नै पर्दैन्। बरू घरको धन्दातिर ध्यान दिए बेस।”

‘कस्सरी चैं हुन्छ त? किटेर भन्नु  पर्‍यो नि? त्यसै भनेर हुन्छ?’ जनता कस्सिए।

“विमति नहुने बित्तिकै सहमति भइहाल्छ।”

नेताले कत्ति पनि हतास नभइकन बोले। कस्ता राम्रा चाटिरहुँजस्ता नेता, अनि कुरा त्यस्तै। “आत्तिनु पर्दैन। समय भन्दा अघि र भाग्य भन्दा बढी पाइदैन। पहिला पनि त आधारात पनि नभनि देशका लागि भनेर मरिमेटेका होइनौं र अहिले शङ्‍का गर्ने?” उनले थपे “यसरी धेरै शङ्‍का गरेर लङ्‍का जलाउने काम गर्नु भएन्। उहिले हनुमानले फत्ते गरेको काममा हामी किन मुछिने? हामी महान देशका महान जनता हौं। तपाईँहरूको भावना बुझेका छौं। हामीलाई काम गर्न दिनोस्। एक वर्ष त के दश वर्ष लागे पनि लागोस, हामीलाई पर्वाह छैन्, हामी देश, जनताका लागि, त्यो क्या अरे संविधान, अँ संविधान बनाएरै छोडछौं।”

उनले कस्तो सरल नेपाली भाषामा बोले, सुनिरहुँजस्तो। जनताले नबुझ्ने कुनै क्लिष्ट शब्द प्रयोग गरेनन्। नेताहरू साहित्यमा रुची राख्तैनन्। नेताहरूले साहित्यमाजस्तो कल्पनाको महल बनाएर हिँडन हुँदैन, र मिँल्दैन। उनीहरूले दालभात, ढुकु, ढिँडो,पीठो, निगुरो आदि नेपाली माटाको कुरा गर्नु पर्छ। त्यहाँ भन्दा माथिको र नबुझिने भाषा प्रयोग गरेर जनतालाई गुमराह गर्नु कदापी हुँदैन, पाइँदैन। पाप पुण्यको ख्याल भएका नेताहरू छन्। सपना पुल हालेको,बाटो बाँडेको ,विकास बाँडेका, जनताहरू माथि माथि पुगेका, कुरा मात्र भन्न मिल्छ। त्यो कुरा हाम्रा नेतागणले रामरी बुझेका छन्। आखिर उनीहरू सामान्य जनताका नेता जो ठहरे।

‘तिमेरले खाली यस्तै कुरा गरेर तीन वर्ष विताइसक्यौ एक दुई झापट पनि पाइसक्यौ,अझै चेत खुलेन? र जनता झुक्याउने कुरा गर्छौ? जनता ज‍ङ्‌गिए। जनता जङ्‌गिनु स्वभाविक थियो।

फेरि मैले नजाँनिदो पाराले आवाज आएतिर कान थापें।

अर्का बुल्डोजरजस्ता रीङमा सबैलाई पछारेर, थिगिरी गर्दै गरेका नेताले सुरुवालको इजार कस्तै एउटा अम्लो उठाउँदै कुर्ले। ‘ए! बाबा! हामी त जनताका झापटका भोका छौ.। हान्नोस जति सक्नु हुन्छ। हान्नोस। तपाईँहरूका हात मलिला छन। गोद्‍नोस।भकुर्नोस। खोप्टे, च्याँसे गालामा पनि धार लाउन थालेका छौं। ‘तर;’

‘तर के?’

‘ तर!जेठ चौधभित्र संविधान नबन्दा आकास चाहिँ खस्तैन बुझ्नु भयो।’

उनको भनाइ सुन्दा यस्तो लाग्थ्यो, मानौं उनैले आकास थामेका छन्। ‘इतरभितर जितरतितर जो जो सुकैले जे सुकै भनोस् कान ठप्प थुन्नोस आकास तिर हर्ने काम छैन। आकास झर्‌दैन्।आकास थाम्ने जिम्मा मलाई दोनोस्। निश्चिन्त हुनुहोस्। बेक्कारमा बकबकेहरूको काम छैन सोझासाझा जनतालाई नानाभाँतीका कुरा गरेको छ। डर देखाएर।’ म छु डराउनु पर्दैन्। मैले भन्द्या छु।’

‘यहाँ हनिमुन त राम्ररी मनाउँन दिँदैनन्’ बिस्तारै भन्न भ्याए।

छेवैमा बसेका बुढाले सुनेछन।

‘ए!  खन्तरे त्यो हनिमुन भन्या चैं के नि? बुढा बा जङ्गे। भन! भन! यिनारका! मैले जानेको छु।’

‘के हुनु नि! जेठा बा, त्यै गोठाला जाँदा खेलेको कुरा गर्छन्।’

‘थुक्क!यस्ता थेत्तरालाई ख्वै भन्नु! पानी पर्न थाल्यो बरू खेतीतिरै जाम।’

मेरो पनि पो के काम थियो र बस्ने। हतार हतार बस चडेर आफ्नी जाहानलाई बुढाबाहरू बीच भएको कुरा सुनाउन भिडमा कोच्चिएँ।

 

 

Posted in हाँस्य ब्यङ्ग | 1 Comment

परीक्षा कि चिट चोर्ने शिक्षा

यस घोर कलियुगमा परीक्षा भन्ने बित्तिकै ‘चिट’ भन्ने एउटा खेस्रो कागजलाई पनि सम्झनै पर्ने हुन्छ। यदि यस शब्दलाई स्मरण गर्न सकेनौं भने परीक्षाको मर्म भेदन गर्न सकिँदैन्। स्मरण रहोस, यहाँ हामी जीवनको परीक्षाजस्तो गहन विषयलाई गलहत्याउँदै कक्षा चड्‍ने परीक्षा बारे गन्थनिँदै छौं।  ’चिट’  अङ्‍ग्रेजीबाट नेपालीमा भतुवा लाग्न आएको शब्द हो। आगन्तुक शब्दको रूपमा ‘चिट’ नेपाली बृहत् शब्दकोशमा लम्पसार परिसकेको छ- दशकौं दशकौं अगाडि।  नेपाली बृहत् शब्दकोशले ससम्मान ग्रहण गरेको यो शब्दाबारे अनविज्ञ कोही पनि छैनन् भन्न सकिने आधार प्रशस्त छन्। नेपाली शब्दभण्डारमा भण्डारन लाग्न आइपुगेको यो भण्डारे, भतुवा ‘चिट’ नेपाली वर्णमालाको चरीचुच्चे ‘च’ भित्र खाँदिएर जो कोहीलाई पनि चिथोर्न आइपुग्छ। नेपालको कुना कन्दरादेखि विकसित सहर बजारसम्म एउटै हैसियतले जरो गाडेर बसेको यो अङ्‍नेपाली शब्द लिसोझैं टाँसिएको छ, काइझैं जमेको छ र चट्टानजस्तो अडिग छ।

‘चिट’ शब्द अङ्‍ग्रेजीमा क्रिया र नाम भएर देखा परेको भए पनि नेपालीमा भित्रँदा नामको रूपमा भित्रिएको पाइन्छ। ठेट नेपाली शब्दहरू शब्दकोशबाट क्रमश: पलायन हुँदै पातलिँदै जाँदा, अन्य भाषाभाषीका शब्दहरू तँ छाड म छाड गर्दै खप्टिँदा यो बेसरमी पनि भित्रियो। यस्ता शब्दले हाम्रो नेपाली भाषाको शब्दकोश भण्डार बढेको र नेपालीको स्तर बढाएकै छ भन्नु पर्ला। आखिर विश्वब्यापिकरणको प्रभाव हाम्रो भाषामा नपर्ने कुरा भएन्। एउटा कुरा यहाँ प्रष्ट्याइहालुँ म भाषाविद् भने होइन। म यहाँहरूलाई निवेदन गरौं ‘चिट’ शब्दबारे धेरै कोट्याएर आफैं जिल्लिन इच्छा राख्तिन्। भाषागत अल्झनलाई, बल्झन नदिने किसीमले बिटमार्ने प्रयत्न गर्दैछु। यस अकिञ्चनले  जनजिब्रोमा अल्झेर बसेको ‘चिट’ शब्दबारे केही कोर्ने जमर्को मात्र गरेको रहेछ भन्ने सम्झि, फिस्स हाँसे पनि भयो, ओठ लेब्य्राउँदा पनि भयो। अमिलो  डकारे पनि भयो, अपान वायूबाट छोडे पनि भयो, पापको भागी हुनु पर्दैन्।

 

‘चिट’को शाब्दिक अर्थ ‘परीक्षामा अवैध साधनका रूपमा चोरी गर्ने मनसायले परीक्षार्थीहरूले छलपूर्वक प्रयोग गर्ने टिपोटपत्र’ भनेर नेपाली शब्दकोशले प्रस्ट्याएको छ। अर्थलाई नै  आधार मानेर भन्ने हो भने पनि  परीक्षा र चिटको अन्योन्याश्रित सम्बन्ध छ भन्दा अर्गेलो नठहर्ने भयो।  त्यसो त चिटलाई रामबाण, भने पनि हुन्छ। वनारसको साँड भन्दा पनि फरक परोइन्।  यसमा  फलामे बार भत्काउन सक्ने तागत हुन्छ भनेर किटानी गरिएको छ। बास्तबमा हो त, धनुष बाण। त्यो चिर्कटोरुपी बाणले सादा कागतमा भेदन गरेपछि परीक्षाको नतिजा नहेरे हुन्छ, सोझै कलेजमा भर्ना फारम भरे हुन्छ भन्ने विज्ञहरूको भनाइ रहेको पाइन्छ। गुल्टनु पर्दैन् , हच्कनु पर्दैन्,सर्केर मस्कँदा हुन्छ। यसको महिमा खासगरि नेपाल देशमा एसएलसीको परीक्षामा सामेल हुने भविष्यका कर्णधारले गाउने गर्छन्। चिटको गीत गाएर धित नमर्ने कत्ति छन कत्ति। चिटका नाताले मित बनेर प्रित गाँस्नेको कमी पो कहाँ छ’र! परीक्षाकालभरि यसलाई लाउने र ओछ्‌याउने पनि छ्‌यासछ्‌यास्ति पाइन्छन्। त्यसो त धेरथोर मात्रामा छिमेकी देश लगायतका देशहरूमा पनि  यसले विभिन्न रूपमा प्रवेश पाएको कुरा सुन्नमा आउँछ।

 

चिटरुपी छुसीको यति प्रशस्ति गाएपछि यसको बासस्थान बारे जिज्ञासा हुनु स्वभाविकै हो। ऊ बस्ने ठाउँ सामान्य आँखाले  भेउ पाउन सक्तैन्। यसको लागि दिव्य चक्षु चाहिन्छ। यसको बास मानव शरीरको अत्यन्त संवेदनशिल र गोप्य क्षेत्र, अन्तरकुन्तरमा हुने गर्छ, जहाँ सामान्यतया: अरूको पहुँच सामान्य अवस्थामा हुँदैन्। चिटको बास भएको ठाउँ हपहपाउँदो स्थानमा हुन्छ। गर्मी ठाउँमा बास बसे पनि बाफिलो ठाउँमा यो टाक्सिन्छ।  चिस्यानमा बस्दा यसलाई पोलीयो भन्ने बिमारले गाँज्न सक्छ।  यसको अनुहार बिकृत हुन्छ। शक्ति क्षीण हुन्छ। भाँती नपुर्‌याइ लालीपाउडर बेसकन पोतेर गर्मीमा हिँड्‍दै गरेकी नयाँ बेहुलीझैं देखिन्छ। ‘चिट पात्र’ त्यतिखेर ‘वाँदरको पुच्छर लौरो न हतियार’ हुनपुग्छ। ठन्डामा यसले डन्डा खाने डर भएको र जीवन नै जोखिममा पर्ने हुँदा हम्मेसी यो खुल्ला ठाउँमा बिचरण गर्दैन। यो नातिशितोष्ण अर्थात् न अति गर्मी न अति जाडो मौसममा कापकापमा गुजमुजिएर बसेको पनि हुनसक्छ। यो खुट्टाको तलुवादेखि, मलुवा सुर्तीको खोलसम्म भएर, नजानिदो पाराले बसेको पनि कताकतै पाइएको छ। यसले बाहिरी छोपुवा वा बोक्रो लाउन नमिल्ने भएकाले यो प्राय: नाँङ्गै बस्न मन पनपराउँछ। यसर्थ यो स्वभावैले, लज्जालु जातमा पर्छ।

 

ऊ आफू क्रियाशील भएको बेला कसैको कुदृष्टि यसले सहनै सक्तैन्, तत्कालै मर्छ या मारिन्छ। यसमाथि बाह्य मानिसको दृष्टि, शनि महारजको दृष्टिझैं हुन पुग्छ। बेलाबेला यो हस्त अङ्गुली भित्र ऐंठन भएर छटपटाएको बेला सेता मिलेका मुसा दाँते छिर्केमिर्के अनुहार देखाएर छिनमै अलप हुन्छ। यो निशाचर अक्षर भएर पनि उज्यालो नभेटि जीवन्त हुँदैन्। यसले बाहिर विचरण गर्ने अवसर पाउँदा पनि कसै न कसैबाट परिवेष्टित हुन्छ। यसको सुरक्षाघेरा अत्यन्त बलियो हुन्छ।  घपल्लक्क मुख छोपेर बस्छ। र बाहिरीयाको पदचाप केही टाडा पुगेको भान हुनासाथ पिलिक्क आँखा खोल्छ, बन्द गर्छ, अनि फेरि पिलिक्क आँखा खोल्छ फेरि बन्द गर्छ। हो कि होइनजस्तो गरिरहन्छ। यो क्रम करीब तीन घन्टासम्म चल्छ। तन्द्रामा भएको जुवाडेजस्तो। यसलाई काँध हाल्नेलाई  चिटार्थी भनिन्छ। चिटार्थी बाहिर बस्ने बहानामा ट्वाइलेट जाँदा सास फेर्ने अवसर पाउँछ। यसको आयु सामान्यतया: तीन घण्टाको हुन्छ। अर्थात् बाहकले यसलाई अरथीमा हालेर जाँचरुपी घाट लान्छ र सामान्यतया: उतै बिसर्जन गरेर आउँछ। असामान्य अवस्थामा यो उदरस्त हुने हुँदा यसले बाध्य भएर मानवका अन्तकुन्तरका घुमाउरो र अध्यारोबाटो हुँदै पिसिएर, अरूसँग मिसिएर, कालो दुलोबाट गन्धे भएर निस्कनु पर्छ। यो कृया कार्यन्वयन हुन सामान्यतया: बाह्र घन्टादेखि, चौबिस घन्टासम्मको हुन्छ। आउँ पर्दा र पेट खुकुलिँदा केही भन्न सकिन्न्। गन्धे आचीसँग लटपटिएर छटपटिँदै रागेटाटे भएर बस्नु पर्ने पनि हुनसक्छ। आयु नपुगी यौवनमै यसरी लाउँलाउँ खाउँखाउँ बेलामा सिल्टीनुलाई आत्मघाती मृत्यु वा आत्महत्या भने हुन्छ।

जन्मदा यसको भविष्य अत्यन्त उज्यालो हुन्छ। यसलाई आल्टापल्ट्याइ गरेर यसका पारखीले खुपै तारीफ गरेका  हुन्छन्। ‘हुने बिरुवाको चिलो पात।’ यो चिटरूपी छिट सादा कागजमा बहुतै मिनेतले तयार गरिएको हुन्छ र यो बहुतै मिहिनेतले पट्याइएको हुन्छ। यो पट्याउने कला हरकोहीलाई आउँदैन्।  त्यसो त चिट पट्याउन, बेहुलाले लाउने माहुर पट्याउनेलाई पनि हम्मेहम्मे नै पर्छ भनिन्छ। सिकारु परे भने निर्माणकर्ता र प्रयोगकर्तालाई पनि पट्याउने कला आउँदैन्। यसलाई सफलताकासाथ प्रयोग गर्न यो लेखिएका बखतका हर्ताकर्ता हाम्रा प्रधान मन्त्री श्रीमान् झलनाथ खनालज्यूकोजस्तो अर्जुनदृष्टि अपेक्षित छ।

 

चिटलाई ‘बुटी’ भन्नेको कमी पनि छैन्।  धामी, झाँक्रीले मन्त्रेर कागज, कपडा, वा कुनै धातुमा अछेता फूलपाति खरानीमाटोजस्ता सामान  लपेटेर  घाँटी, कम्मर वा हातमा बाँध्ने बस्तुलाई हामी बुटी भन्छौं। बुटी भन्नाले खास गरी केटाकेटीलाई लगाउने ‘जन्तर’ भन्ने बुझिन्छ। बुटी बाँधेपछि लागलगान, भुतप्रेत पिसाच, डाकिनी,साकिनी सबै छु मन्तर हुन्छन्।  चिटरूपी बुटीले परीक्षार्थी होइन कि चिटार्थीहरुको बाह्रैसुर कसेर सुरक्षित पार्छ। क्षमा गर्नु होला, चिटमा मात्र भरपरेर परीक्षामा सामेल हुनेलाई मैले ‘चिटार्थी’को सँज्ञा दिएको हुँ। धेरै वर्षको अनुसन्धानबाट पत्ता लागेअनुसार यस प्रयोजनका लागि यतिको शक्तिशाली र सुरक्षित यन्त्र अहिलेसम्म फेला पार्न सकिएको छैन् भन्ने अन्वेषकहरूको ठहर छ। यो चिटरूपी बुटी गंज्याए पछि जस्तोसुकै परीक्षाको बाढी किन नआओस मनुवाले परीक्षारुपी बैतरणी पार गर्छ। यसमा सन्देह नमाने हुन्छ भनिएको छ । चिटरुपी छिट नपाएर कन्चटमा चिटचिट पसीना काडेर फिट हुनाका डरले ढिँड भएर जिउज्यान दिने चिटार्थीको बयान गर्ने कुरा दालभात खाएजस्तो सजिलो पक्कै छैन। यसलाई ठाउँ, भाषा र समयअनुसार विभिन्न नामले सम्बोधन गरेको पनि पाइन्छ। यहाँ सबै उल्लेख गर्न असम्भवप्राय: देख्छु।  यसबारे सबैका आआफ्ना अनुभव हुन सक्छन्। यसै मेसोमा मेरा अनुभव राख्‍ने धृष्टता गरेको कुरा सविनय निबेदन गर्दछु।

 

एक पटक यो पङ्‌क्तिकार काठमाण्डूको उत्तरी भेगको एउटा गाउँठाउँ पुगेको थियो- मेरा सहकर्मीको घरमा निम्ता मान्ने सिलसिलामा। काठमाण्डूको रत्नपार्कलाई सहरको केन्द्र बिन्दु मान्ने भने पनि म गएको ठाउँ देशको राजधानीबाट मुस्किलले दश किलोमिटरभित्र पर्दो हो। मैले ऊल्लेख गर्न खोजेको ठाउँ गोकर्ण नपुग्दै बाटैमा पर्छ। त्यस ठाउँलाई के भन्छन, ठ्याक्क मैले नाम बिर्सें। म त्यहाँ पुगेको बेला त्यस ठाउँका  केही जवान ठिटाहरू गलामा माला लगाएर गुन्टा कसेर लडाइँमा जान तयार भएजस्ता देखिन्थे। उनीहरूलाई हेर्दा जो सुकैले पनि हाम्रो वीर गोर्खालीको विरताको गाथा स्मरण गर्न सक्थ्यो। उनीहरू कुनै पनि बेला शत्रुका शिर छेदन गर्न तम्तयार भएर बसेकाझैं देखिन्थे।बस! आदेशको पर्खाइमा छन्। यसपटक राम्रो गर्नु, पोहोरकोजस्तो होला, होस गर्नु आदिजस्ता अर्ती अभिभावकहरूबाट लिँदै बिदाबारी हुने तरखरमा थिए। मैले मनमनै कल्पें यी युवकहरू पक्कै पनि कि त सेनामा जागिर खान जाँदैछन् नभए पनि विदेशतिर हानिए। बिचराहरू के पो गरुन आखिर केही त गर्नु पर्‍यो। दुईमा एक हुनु पर्छ, पक्कै हो नत्र बाबुआमाले यत्रो तामझाम गरेर कसरी बिदा गर्दा हुनन्। र पनि मन मानेन सोध्नै पर्‍यो भनेर एकअर्कामा प्रितीपूर्वक जोडिएर बसेका ओठ बलजफ्ती खोलें। आखिर हाम्रा भविष्यका कर्णधार, होनाहार युवक बारे जान्ने अधिकार मलाई नभएको त होइन।

“होइन् यी भाईहरू कता जान लागेका हुन, होला? बडा फुर्तिला र कमकरी देखिन्छन्।” मैले मेरो जिज्ञासा मेरा सहकर्मी अगाडि बिस्तारै ओछ्याएँ।

“कहाँ हुनु नि! यी हरिलट्‌ठक, हरिलम्फूहरू एसएलसी दिन हिँड्‍न लागेका।”

अकल्पनीय जवाफ  पाएर मैले  निधार खुम्च्याउँदै सोधें;

“होइन मैले त बुझिन के अरे? एसएसलसी दिन फेरि यहीँ….पनि त..” भन्दा नभन्दै तिनले गुह्य करा बिस्तारै खोले;

‘यी हरिपहरूले एसएलसी दिन थालेको तीन कि चार वर्ष भयो, मुर्दारहरू कसै गरे पास हुँदैनन्। यसपालि  कता हो नाम पनि आद‍उँदैन तेस ठामको, एउटा सेन्टरबाट फारम भरेका छन्। त्यहाँ खुलेआम चिट चोर्न पाइन्छ अरे। त्यतै जान लागेका। ऊ त्यो उतातिर उभ्भेको पातलो जुल्फी पालेको केटो छ नि! त्यो बडो बाठो र’छ। पोहोर त्यतै गएर फस्ट् डिभिजनमा पास भएर आएर पढदै पनि छ, काहाँ! जागिर पनि पो खान थाल्यो त! सबै बेबस्ता तेसैले गरेको। ए! अस्ति नै देखि चिट बनाएर सबैले फोटो कापी बोकेका छन्। यसपालि त पास गर्लान नि। सर, मेरो छोरो पास भएपछि त जागिर त दिनु पर्छ है, अहिले भनिराखेको छु।” “जानेमा हाम्रो ठिटो पनि छ क्या!” मेरो देब्रे कानमा उनको तातो हावासँगै शब्द ठोक्कियो। तातो हावामा रक्सीको हरक पनि आयो। मैले नजानिँदो पाराले नाक अर्कैतिर तेर्‌छ्याउने कोसिस गरें। यति कुरा बिसाए पछि उनी मलाई हेरेर फिस्स हाँसे र छोरालाई सगुन ख्वाउन उठे।

उनी हाम्रो अफिसमा सरसफाइको काम गर्ने इमान्दार कर्मचारी हुन्।

मैले यसबारे बढी कुरा गर्न आवस्यक ठानिँन् र अहिले पनि ठान्दिन, किनकि मैले उनको सवालको जवाफ दिन जाँनिन्। त्यत्तिकै थचमरिएँ।

 

यसै सन्दर्भमा,  फेरि अब अर्को प्रसङ्‍ग पनि कोट्याउँ कि, जस्तो लाग्यो। जन्ती गएका बखत काम नहुने। जन्ती जानको बेग्लै मज्जा। सबै वर्गका मान्छेहरूसँग एउटै थलोमा भेटघाट हुन्छ। थरीथरीका कुरा थरीथरीका मान्छे।

अहिलेलाई हामी माथिको प्रसङ्‌गलाई नै अगाडि बडाउँदै छौं।

यसपालि जन्तीमा मैले गुरुबाबुहरूसँग सङ्‍गत गर्ने मौका पाएँ। लामो समयदेखि बोधो भएको दिमाग तिखार्ने सुनौलो अवसर पाएर धन्य! धन्य! हुने मौका जुराइदिने आफन्तलाई मनमनै नमन गरें।

स्वभावत: गुरूबाबु , परीक्षा, चिट, डेस्क, बेन्च पढाइ स्कूल आदिसँगै जोडिएरै आउने भए।

एसएलसी सकिएर उत्तर पुस्तिका परीक्षण गर्ने समय परेको रहेछ।

नेपाली विषयको एसएलसी स्तरको उत्तर पुस्तिका जाँच गर्दैगरेका एकजना गुरुबाबुले परीक्षार्थीको उत्तर पुस्तिका जाँच्दै गए। उत्तर निकै राम्रो छ। नम्बर दिँदै गए। नौवटा उत्तरमा पाएको नम्बरले नै परीक्षार्थी राम्रै अंक पाएर उतीर्ण हुने देखियो। अन्तिम प्रश्‍नको उत्तर हेर्दा मात्र गुरुबाबुको दिमाग चकरायो। एकजना कविको जीवनी लेख्‍ने ठाउँमा अर्का समाजसेवीको जीवनी लेखेको छ।निकै लामो प्रयासबाट गल्ती त्यति मात्र भएको पत्ता लाग्यो, अरु सबै ठिक छ। त्यसपछि त्यसै सेन्टरका अरु पनि उत्तर पुस्तिका पल्टाएर हेरे। प्राय: सबैको एउटै किसीमको उत्तर छ। भएको के रहेछ भने, चिट बनाएर दिनेले सम्भावित उत्तर लेखेर दिँदा कापीको एउटै पन्नामा अगाडिपछाडि दुईजनाको जीवनी लेखेर दिएको रहेछ। उत्तर लेख्‍नेले उस्तो ठुलो  गल्ती  गरेको त होइन केवल चिट पल्टाउन र प्रश्‍न हेर्न मात्र बिर्सेको रहेछ। जान्नेलाई प्रश्‍न पनि पो, किन हेर्नु पर्दो र’छ र! माथिका त ठिक सारेकै हो। धस्काउन  त उसले त्यतिको भाँती पुर्‌याएर नै धस्क्याएको भन्ने ठहर भयो। अन्त्यमा , नौवटा प्रश्‍नको सही जवाफ लेखेर राम्रो काम गरेको कुरालाई सकारात्मक हिसाबले हेर्नु पर्ने र एउटा उत्तरमा तलमाथि परेको कुरालाई बढाइचडाइ गर्नु अनुपयुक्त हुने ठाँनि, हामी बेहुलो लिएर जन्तेबाख्रो खान हतारहतार घर फर्कियौं।

यसरी विद्वतापूर्वक चिटको बिट मार्न सकेकोमा हामी सबै दङ्‍ग थियौं।

यी दुबै उद्धरणबाट दीक्षित भएका हाम्रा भविष्यका शिक्षित कर्णधारले देशलाई काँध हालेर हिँड्‍दा देश कति शोभायमान हुँदो हो हेर्नाको इच्छा बहुतै भएको छ। बाँचे सौभाग्य मिल्ला भन्ने ठाँनेको छु। तपाईँलाई नि?

 

Posted in हाँस्य ब्यङ्ग | 1 Comment

नियति

नियति

सहमति विमति, विमति सहमति

धेरै धेरै विमति, यस्तै छ,हाम्रो नियति।

कुरा भने कतिकति, मति कुद्छ अधोगति

कुरा पाक्छन फतफती, काम कुरो जतिकोतति।।

 

मति भए न उर्ध्व गति, देश लाग्यो अधोगति

कस्को फिर्ला र मति, समयको मात्र खति।

नेता भए गति न पति,जनता गर्छ खटपटी

मान्छे मर्छन भटाभटी,मार्ने मिल्छन कताकति।।

 

पैसाकोलागि जान्छन सती,पाए निल्छन घटघटी

सोझा  मान्छे हेप्न पाए, गर्छन त्यसको लटिपटी।

जनता गर्छ थकथकी,  काम हुँदैन हतपती

कुरा हुन्छन जातपाति,योजना छन पाथीका पाथी।

 

पैसा भए नाति न साथी,मन छ भित्र भित्रै काती

राम्रा काम गर्नेलाई लात्ति, कुरा धेर गर्ने नै जाती।

पदमा भए सबै जाती,पद गुमे त्यसै नजाती

चडन खोज्छन हौदा हात्ती,पुग्न खोज्छन माथि माथि।।

 

 

काम गर्ने छैन भाँती,जुलुसका मात्र छन ताँती

मान्छे भयो वानर जाति,हुँदैन काम राखी थाँती।

कोही छैन यहाँ आँटी, भेटिदैन कोही खाँटी

मनमा तुस राखि राखि,कसरि बन्ला त यो जाति?

 

Posted in कविता | Leave a comment

बकबक-३

उहिलेउहिले  नेपाल देशमा पंचायत नाम गरेको शासन व्यवस्था थियो। त्यस कालमा देश दर्शनार्थ देशका विभिन्न भागमा राजाको  सवारी चल्थ्यो । आफ्ना पौरखी पूर्खाहरूले आर्जेको मुलुकको विकास भयाको हेर्नाको इच्छा राजालाई हुने नै भयो। उस बखत राम्रो चलन थियो। राजा आउने चलन थिएन् राजाको सवारी चल्थ्यो। तिनताका जनता प्रजा नामले चिनिन्थे। राजा खानुहुँदैनथ्यो, राजाले ज्यूनार गरिबक्सने चलन थियो। अहिले पनि सम्भ्रान्त परिवारमा सवारी चल्छ, ज्यूनार हुन्छ ,केही कुरा बक्सिन्छ। यो परापूर्खाबाट चिलआएको कुरा भन्ने बित्तिकै कहाँ मेटिन्छर! परम्परा थामिएकै छ, पालना भइआएकै छ। राजा सवारी भएका बखत आफ्नो पौरख देखाउनाको इच्छा कसलाई नहोला र! नेपाल देशका पौरखी विकासेहरूले कहिले कोपीको अनुहारसम्म नदेखेको ठाउँमा रातारात कोपी फलाउँथे,त्यस्तै गरि कपास फूलाएर सेताम्मे पार्‍थे, रनघन पार्‍थे। ‘मलाई कास्मीरको स्याउ चाहियो’ भन्दा चमत्कारीहरूले भर्खर बोटबाट टिपेकोझैं देखिने ताजा स्याउ ठाउँको ठाउँ ल्याइदिन्थे अरे, त्यस्तै त्यो कालमा नेपाल देशमा पनि चमत्कार गर्नसक्ने चमत्कारीहरूको कमी थिएन्।विकासेहरूको देश बनाउन हानाथाप थियो। राजाको निकट हुने सबै विकासका कुरा गर्थे।विकेद्रीकृत व्यबस्था थियो, सबै कुराको चाँजोपाँजो माथि, धेरै माथिबाटै हुन्थ्यो। देशमा अमन चैन थियो। हडताल हुँदैन्थ्यो। टायर बल्दैनथ्यो। हामी जंगली भयौं भनेर सभ्य हुन बन जंगल सफाया अभियान भने चलेकै थियो, त्यसको निरन्तरता भएको छ भन्ने सुनिनमा आएको छ।

 

तिनताका अरूले दश वर्षमा गर्ने काम नेपालीले एकै वर्षमा गर्नु पर्‌थ्यो। विकासको काम जिम्मा लिएकालाई काम गर्न कटिलो थियो। रातारात कामगर्नु पर्‌थ्यो। दिनमा मात्र काम गरेर साध्ये थिएन्। बाटोघाटोको सुबिधा थिएन्। कोपी होस कि मूला, कपास होस कि काँक्रो जरैदेखि उखेलेर हेलिकेप्टर पाए हेलिकेप्टर, नपाए पनि कुनै  सानो जाहाज जे पाइन्छ त्यसमा , बढो दुखले लानु पर्‍थ्यो। नेपालमा मात्र पाइए त हुन्थ्यो नि! विदेशबाट पनि झिकाउनु पर्‌थ्यो। अहिले सम्झँदा पनि त्यत्रो काम कसरी सम्पन्न गरे होलान् भनेर आश्चर्य लाग्छ आँङनै जिरिङ्‍ग हुन्छ। भन्नेले जे भने पनि उनीहरूले  आफ्नो क्षमता देखाएकै थिए। भित्रभित्रै कानेखुसी हुनु कुन ठुलो कुरा थियो र! धेरै कुरा साउति मै चल्थ्यो। आखिर देश विकास भनेको पनि त अर्को शब्दमा भन्दा देश सफा गर्ने नै हो । सफाइ गर्न हल्ला गर्नु पर्छ र! एकलगले काम गरे त भइगयो नि! जसरीतसरी विकासको मूल फुटाए, जनता जनार्दनलाई जयजयकार गर्न लगाए, गगनभेदी नारा घन्काए।  राजा विकास देखेर दंग परे, विकासेहरूले तक्मा थापेर धन्यधन्य भए।

 

यति विधि विकासे काम गर्दा पनि आहाह्रिसेहरूले देखि सहेनन् । पहिलेकाले त मूला, कोपी आदि इत्यादि जरैसँग उखेलेका थिए त्यसको रिसमा नया आउनेले व्यवस्था नै जरैसँग उखेलेर फाले। यसरी व्यवस्था फाल्दा अलिकति पनि माया गरेनन्। यति अचाक्लि चाहिँ नगरेकै भए हुन्थ्यो। दुखमनाउ गर्ने अहिले पनि गर्दैछन्। कालान्तरमा गएर सबैले राजालाई नै अर्गेलो भनेर उम्किन खोजे। राजा, राजसँस्था आँखाको कसिङ्‌गर भयो। कुचो लगाएरै बडार्‍यौं भन्दै छन्। कहिलेकहिले झिक्राझुक्री त छन् त! पनि भन्दै गर्छन्। आखिर त्यहाँ पनि कुचो नै लाउनु पर्‍यो। धैरैले ‘राजाका सय आँखा’ भन्ने उखान पनि दोहोर्‌याइ हेरे। सबै उखानमा बखान गरे झैं कहाँ भएको छ र!

 

Posted in हाँस्य ब्यङ्ग | Leave a comment

बकबक-२

गताङ्कको बाँकी भाग

 

 

उल्लिखित, नियमित घर सफाइको नियमित प्रथम खण्डलाई खण्डीकरण गर्दै, अर्को शब्दमा, नियमित गर्दै आएको कामको क्रमलाई भत्काएर, क्रमभङ्‍ग गर्दै आङ्‌क्षिक घर सफाइतर्फ लागौं। काम गर्ने शैलीमा परिवर्तन ल्याएर कामलाई निरन्तरता दिनु मेरो बुझाइमा क्रमभङ्‍ग गर्नु हो। हिजो आज, आजको कुरा भोलि लागु हुँदैन्। आज भनेको कुरा भोलि त्यसैमा अडनु पर्छ भन्ने छैन्। हिजो गरिएका बाचा, हिजो कोरिएका खाका हिजो लाइएका ढाका ती त उहिले बाबुबराजुका पालाका भने हुन्छ। अहिले क्रमभ्रङ्‍गको संस्कार विकास भएको छ। जसले जति क्रमभङ्‍ग गर्न सक्यो उति महान हुन्छ। हुन त हो नि, क्रमभङ्‍ग नभएको भए देशमा यत्रो विकास कसरी सम्भव  थियो? धन्य पुरातनपंन्थी, रुढिवादी भनाइमाग्नु त परेन!  शब्दको ब्याख्या गर्न हुति नहुँदानहुँदै पनि गर्ने जमर्को गर्ने धृष्टता गरें त्यसैले अहिलेलाई यहीँ  थाती  राख्‍न ठीक ठाँनें। यहाँ क्रमभङ्‍ग गर्न खोजिएको विषय हो घर सफाइको।  हामी आङ्‌क्षिक घर सफाइका कुरा गर्दैछौं। आङ्‍‌क्षिक पनि सामान्य र विषेश हुन सक्छ। हुन त आङ्‌क्षिक घर सफाइ शब्द आफैं बोल्छ र पनि छोटकरिमा, प्रष्ट्याउने कोसिस गरौं। घरको सन्दर्भमा कुरा गर्दा केही भाग भन्ने बुझौं, यति बुझे पुग्छ।  सामान्य तर आङ्‌क्षिक घर सफाइको उदाहरण, ‘आज विदाको दिन छ भान्सा सफा गर्ने’, स्वस्फूर्त: वा  आदेस जे पनि हुन सक्छ। विषेश आङ्‌क्षिकको एउटा उदाहरण, ‘ आज ज्वाइँसा’ब पाल्नुहुन्छ बैठक सफा राख्‍नु या राख्‍नै पर्छ’ आदेस माथिबाट झर्न पनि सक्छ या स्वस्फूर्त:।

 

आदेशको कुराहाल्दा एकछिन नेपाल देशको पुरानो व्यवस्था बारे केही उल्लेख गरौं कि जस्तो लाग्यो। नेपालमा ‘माथि’को आदेशको कत्रो महिमा थियो ? राजाका राजदेखि बानी परेकालाई थाहा भएकै कुरा हो। ‘माथि’ शब्दले आफू भन्दा ठुलो, अग्लो ,शक्तिशाली तर अदृष्य भन्ने बुझ्दा फरक परेन, परेको थिएन आम मान्छेलाई। ‘माथि’ शब्दको परिभाषा  गर्दा आफू भन्दा माथि, उच्च, घर माथि, ऊँभो, अग्लो ठाउँ, बुइँगल माथि, आदिजस्ता अर्थमा मात्र सीमित रहेर, मैले ‘माथि’ भनेको कहाँ हो र के हो भनेर बुझें, भनेर बुर्कुसी मार्नु बुद्धिमानी ठहर्दैन्। यो पवित्र शब्दको ब्याख्या गर्न हज्जार जिब्रो भएका शेष नागले नसकेको अरु को के सामर्थ । शब्दार्थ र भाव जानेर हो वा नजानेर हो,  कसैकसैलाई यति दुई अक्षरी मन्त्रले इहलोक त सुधारो सुधारो परलोक जाने बाटो पनि चौडा पार्‍यो। के ‘माथि?’ को ‘माथि’? भन्नु भन्दा सामान्य जनतालाई ‘राजाको अगाडि बाबुको दुहाइ’ यति बुझे पगिहाल्ने। जसले जसरी बुझे पनि हुने, जसरी बुझाए पनि हुने । अहिले पनि नेपालमा  ’माथि’ र ‘भोलि’को खेला हुने नै गर्छ। अड्डाको काम नभएर दिक्दारिएका भानुभक्त ‘ भोलि भोलि भन्दै दिन बितिगयो बक्सियोस आज झोली’ भन्दाभन्दै  बिते। कबीरले  ’ कल करे सो आज कर , आज करे सो अब, पलमें परलय होएगी, बहुरी करोगे कब’ भन्दै भट्याउँदै हिँडे।

 

यहाँ कुरा घर सफा गर्ने हुँदैछ। सफाइमा पनि ‘विषेश घर सफाइ’। यो घर सफाइले समग्रमा सफाइको कुरा गर्छ।  सफाइको कुरा हुँदाहुँदै कहाँबाट ‘आदेश’ ‘माथि’जस्ता कुरा जबर्जस्ती घुसेका। कुचोसँग ‘माथि’ ‘आदेश’ ‘भोलि’जस्ता शब्दको अन्योन्याश्रित सम्बन्ध छ भन्दा आश्चर्य मान्नु पर्दैन्।  यताउति गर्‍यो फेरि उही पुङ्‍माङे कुरा, बकबास। छेउ टुप्पाको ख्याल छैन्। काम कुरा एकातिर कुम्लो बोकी ठीमीतिर भन्ने अर्थ पनि नलाग्ने होइन्, राम्ररी नगम्दा, धैर्य हराउँदा। आकास पाताल जोडेर बकबक गर्‍यो भइहाल्यो। आखिर बकबकेको बकबक त हो नै। विषय वा प्रसङ्गले अर्को अर्थ नलागे घर भन्नाले ‘हामी सबै नेपाली बस्ने घर जहाँ हाम्रो घर ठडिएको छ’ भन्ने बुझ्दा पनि त हुन्छ। जग नभइ घर ठडिँदैन् त्यसको कुरा नगरी मन अडिदैन्। कुचो भन्नाले सफा गर्ने साधन्, आदेश भन्नाले  शासन, भोलि भन्नाले काम गर्न आलटाल भन्ने बुझ्दा कस्तो बुझियो? यसरी नै बुझ्दै जाँदा नियमित घर सफाइ सरकारी काम, आङ्क्षिक गर्नु पर्ने काम मध्ये केही काम मात्र, विषेश भन्नाले कसैको कडाकडी आदेशमा वा नगरि नहुने काम भनेर बुझ्दा पनि त भयो।

 

मान्ने लाज कुरो छैन्। हामी नेपाली कुचो संस्कारमा हुर्केका। गाउँघरमा सफा गर्ने कुरा गर्नासाथ कुचो नै पहिलो नम्बरमा आउँछ। जसरी घर सफा गर्न कुचो, नेपाली माटाको कुचो नै चाहिन्छ, नेपाल सफा गर्न पनि सक्कली नेपाली कुचो नै चाहिएन त! पहिला कुचो लगाउने कहाँ? कसलाई? कहिले? आदि प्रश्न ऊठन सक्छ। ‘कुचो’ मानिसको प्रवृत्तिमा लाउनु पर्ने देखिन्छ जहाँ जसजसलाई लगाए पनि। ‘आज शहरको फलानो ठाउँमा भेला भएर सफाइ अभियान चलाउने’ भनेर  एकछिन् कुचो चलाएर, कुचो लाएर के देश सफा होला? सफाइ अभियानको सुरुवात हुन सक्छ तर दिघो सफाइका लागि  कुचो पहिला आफैंले, आआफ्नो घरमा लगाउन सक्नु पर्छ। एउटाले अर्काको घरको रछ्यानको गन्ध सुघ्नु अघि आफ्नै रछ्यान् किन सफा नगर्ने? देशमा भएका बिकृतीदेखि लिएर मन मस्तिष्कका बिकृतीलाई कुचो लगाएर फाल्न नसके कसरी परिवर्तन हुन्छ। पहिला भित्र सफा हुनु पर्‍यो अनि मात्र बाहिर सफा हुन्छ। एक दिनको पनि, एक छिन  सफा गरेर सफा हुँदैन्। भनाइ नै छ ‘सफा गर्न सजिलो छ सफा राख्‍न अति गाह्रो छ।’ क्रमश:

 

Posted in हाँस्य ब्यङ्ग | Tagged | 1 Comment